बिर्तामोड वैशाख २० ।। झापाको बिर्तामोडमा आजबाट चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ।
बिर्तामोड भेट्रान्स फुटबल क्लबले आयोजना गरेको
प्रतियोगिता बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजबंशी रङ्गशालामा सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिर्तामोड भेट्रान्स ‘निलो’ले दुधे भेट्रान्स फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। जसका लागि जर्सी नम्बर ८ का सन्तोष राईले खेलको इन्जुरी समयमामा गरेको गोल नै निर्णायक बन्यो।

पूर्व राष्ट्रिय तथा अनुभवी खेलाडीहरूले भरिएको आयोजक टोलीले दुधे भेट्रान्स माथि खेल अवधिभर दबाब कायम राखेको थियो। मिडफिल्ड र डिफेन्स दर्बिलो बनाउँदै आक्रमण बुनेको बिर्तामोडले केही राम्रा अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन । यता दुधे भेट्रान्सले पनि काउन्टर अट्याकमार्फत केही उत्कृष्ट अवसर बनाएको थियो, तर फिनिसिङ कमजोर हुँदा पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आयोजक बिर्तामोड भेट्रान्स निलोका सन्तोष राई म्यान अफ द म्याच बने उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा र विशेष अतिथि मेची आखाअस्पतालका अध्यक्ष तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले ट्रफी तथा नगद प्रदान गरे

प्रतियोगितामा झापा, मोरङ ,सुनसरी र इलामका गरिब कुल १० वटा भेट्रान्स फुटबल टिमहरूको सहभागिता रहेको छ।
उद्घाटन समारोह बिर्तामोड भेट्रान क्लबका अध्यक्ष किरण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष भगीरथ आले मामा र विशेष अतिथिमा मेची आँखा अस्पतालका अध्यक्ष तथा झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको आतिथ्यता रहेको थियो
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि आले मामाले भेट्रान खेलाडीहरूका लागि यस्ता प्रतियोगिताहरूले खेल जीवनलाई निरन्तरता दिनुका साथै स्वास्थ्य र सक्रियता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले पूर्व खेलाडीहरूको अनुभवलाई खेलकुद विकासमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै, विशेष अतिथि गुरुङले यस्ता प्रतियोगिताले पूर्व खेलाडीहरूलाई आफ्नो खेल जीवनसँग पुनः जोड्ने अवसर प्रदान गर्नुका साथै नयाँ पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुने आयोजकले जनाएको छ। पहिलो खेलमा धरान भेट्रान फुटबल क्लब र भद्रपुर भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मेचीनगर भेट्रान्स क्लब र कन्काई भेट्रान्स क्लब (सुरुङ्गा) आमनेसामने हुनेछन्।
प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते शनिबार हुने छ। प्रतियोगिताका विजेताले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। साथै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष किरण थापाले जानकारी दिए।
उद्घाटन समारोहको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए। प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकास, पूर्व खेलाडीहरूको सक्रियता र आपसी सम्बन्ध सुदृढ गर्न योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।

