मेचीनगर, झापा। काकरभिट्टा युवा क्लब मेचीनगरको आयोजनामा ‘दिव्यज्योती काकरभिट्टा च्याम्पियन कप–२०८३’आयोजना हुने भएको छ
प्रतियोगिता आगामी साउन ९ गतेदेखि १६ गतेसम्म मेचीनगर स्थित काकरभिट्टा माविको खेलमैदानमा सञ्चालन हुने भएको छ।आयोजकले आज काकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो।
स्थानीय युवा खेलाडीलाई प्रोत्साहन गर्दै फुटबलप्रति आकर्षण बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोली सहभागी हुनेछन्। प्रतियोगिता नकआउट प्रणाली अनुसार सञ्चालन गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १ सय तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ५० हजार ५ सय ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार प्रतियोगितालाई सफल बनाउन रु. २ लाख ५० हजारभन्दा बढी सहयोग गर्ने संस्था वा व्यक्ति मुख्य प्रायोजक तथा रु. १ लाख ५० हजारभन्दा बढी सहयोग गर्नेहरू सह–प्रायोजक रहने व्यवस्था गरिएको छ।
प्रतियोगिता सञ्चालनका लागि स्थानीय संघ–संस्था, जिल्ला खेलकुद विकास समिति तथा अखिल नेपाल फुटबल संघ (एन्फा) झापा शाखासँग समन्वय गरिनेछ। खेल मैदानको स्तरोन्नति, मैदान व्यवस्थापन, खेल सामग्री खरिद, स्वयंसेवक परिचालन, उद्घाटन तथा समापन समारोहको व्यवस्थापन, पुरस्कार वितरण र खेल अवधिभर स्वास्थ्य तथा प्राथमिक उपचारको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख १० हजार रकम लाग्ने अनुमान गरिएको आयोजकले जानकारी दिएको छ