पाँचथर — फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापस्थित फाल्गुनन्द ग्रीन पिस क्लब ले आयोजना गरेको स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता–२०८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ।
क्लबले आज आफ्नै सभा हलमा आयोजित कार्यक्रममा प्रतियोगिताको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेको हो। प्रतियोगिता गत जेठ २९, ३० र ३१ गते फाल्गुनन्द–३ स्थित सारताप मनरत्न माध्यमिक विद्यालयको खेलमैदान मा सम्पन्न भएको थियो।
सार्वजनिक गरिएको विवरणअनुसार प्रतियोगितामा विभिन्न दाताहरूबाट प्राप्त आर्थिक सहयोगबाट २ लाख ८८ हजार ४८३ रुपैयाँ तथा फाल्गुनन्द गाउँपालिकाबाट १ लाख ९७ हजार ४३५ रुपैयाँ प्राप्त भएको थियो। यससँगै प्रतियोगिताको कुल आम्दानी ४ लाख ८५ हजार ९१८ रुपैयाँ पुगेको आर्थिक संयोजक प्रेमराज नेम्बाङले जानकारी दिए।
त्यसैगरी प्रतियोगिताका लागि ट्रफी, मेडल, प्रमाणपत्र खरिद तथा छपाइ, नगद पुरस्कार, ट्रफी, मिडिया, प्रशासन, साउण्ड सिस्टम, साउण्ड सिस्टम तथा खेलाडी ओसारपसारका लागि सवारी भाडा, खेलाडी तथा अतिथिको खाना–बसोबास, स्वयंसेवक, खेलकुद सामग्री खरिद, विविध खेल पुरस्कार, इन्टरनेट, खेलमैदान व्यवस्थापन तथा स्टेज, इन्धन तथा सवारी भाडा लगायत अन्य विविध शीर्षकमा खर्च गरिएको विवरणमा उल्लेख छ।
क्लबले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगितामा कुल ४ लाख ५९ हजार ८२० रुपैयाँ खर्च भएको छ। आम्दानीबाट खर्च कटाउँदा २६ हजार ९८ रुपैयाँ बचत रहेको फाल्गुनन्द ग्रीन पिस क्लबका सचिव तथा कार्यक्रम संयोजक गोपाल घिमिरेले जानकारी दिए।
आयोजक क्लबले प्रतियोगितामा आर्थिक, भौतिक तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरू प्रायोजक फाल्गुनन्द गाउँपालिका, विभिन्न संघसंस्था, खेलप्रेमी, स्वयंसेवक, खेलाडी, दर्शक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरेको जनाएको छ।
सार्वजनिक कार्यक्रममा क्लबका अध्यक्ष धन नेम्बाङ क्लबका अन्य पदाधिकारीहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।