फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्वविजेता स्पेनले सेमिफाइनलमा २०१८ को विश्वकप विजेता फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको उसकालागि २२औँ मिनेटमा मिकेल ओयारजाबाल पेनाल्टीमार्फत गोल गरे त्यस्तै ५८औँ मिनेटमा पेड्रो पोरोले पृष्ठ गोल गर्दै टिमलाई जित दिलाए।
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हराउँदै पहिलो पटक विश्व च्याम्पियन बनेको स्पेन त्यसयता विश्वकपको फाइनल पुग्न सकेको थिएन। २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ मा अन्तिम १६ र २०२२ मा पनि अन्तिम १६ बाटै बाहिरिएको थियो। तर यसपटक युवा र अनुभवी खेलाडीको उत्कृष्ट संयोजनसहित स्पेनले पुनः आफ्नो पुरानो लय फर्काउँदै १६ वर्षपछि फाइनलमा स्थान सुरक्षित गरेको छ।
अर्कोतर्फ, फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा थियो। सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रो पटक विश्वकप जितेको फ्रान्स २०२२ मा पनि फाइनल पुगेको थियो, जहाँ अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। यसपटक भने स्पेनको अनुशासित खेल र प्रभावशाली प्रदर्शनका कारण फ्रान्सको लगातार तेस्रो फाइनल खेल्ने सपना सेमिफाइनलमै समाप्त भएको छ।
स्पेनले यस प्रतियोगिताभर आकर्षक र आक्रामक फुटबल प्रदर्शन गर्दै उपाधि दाबेदारका रूपमा आफ्नो परिचय स्थापित गरेको छ। फ्रान्सविरुद्धको जितसँगै स्पेन अब दोस्रो विश्वकप उपाधिको खोजीमा फाइनलमा उत्रिनेछ। फाइनलमा स्पेनले इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।