काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो क्वार्टरफाइनल खेलमा सडन डेथमा जित निकाल्दै उर्लाबारी एफसी मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार काँकरभिट्टा खेलमैदानमा सम्पन्न खेलमा उर्लाबारी एफसी मोरङले आयोजक काँकरभिट्टा युथ क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। दुवै टोलीले सुरुआती पाँच–पाँच पेनाल्टीमध्ये चार–चार गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो।
उर्लाबारीका लागि आशिष कार्की, विवेक राई, किरण शंकर, ओशन राई र जाङ्ग खड्काले गोल गरे भने रुद्र कार्कीको प्रहार काकरभिटाका गोलकिपर देबेन भुजेलले रोके।
यता काँकरभिट्टा युथ क्लबका सञ्जय धिमाल, पुजन न्यौपाने, विशाल थिङ र सीमान्त थापाले गोल गरे। तर सौरभ सुब्बा र राजु दर्जीको प्रहार लाबारी फुटबल क्लबका गोलकिपर योगेश धिमालले विफल तुल्याउँदै आफ्नो टिमलाई जित दिलाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका उर्लाबारीका कप्तान तथा गोलरक्षक योगेश धिमाल नायक बने। निर्धारित समयमा काँकरभिट्टाका दुई उत्कृष्ट अवसर विफल पार्दै टोलीलाई खेलमा कायम राखेका धिमालले पेनाल्टी सुटआउटमा पनि उत्कृष्ट प्रदर्शन गरेपछि उनी प्लेयर अफ द म्याच घोषित भए। उनलाई नगद २५०० र ट्रफी प्रदान गरियो।

प्रतियोगिता अन्तर्गत आज मङ्गलबार इलामको रेडहर्स एफसी र भारतको सिलिगुडीस्थित कञ्चनजंघा एफसीबीच चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल हुनेछ।
प्रतियोगिताको फाइनल खेल साउन १६ गते हुनेछ। विजेताले नगद १ लाख १हजार एक सय प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार ५५० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी तथा नगद प्रदान गरिने आयोजक काकरभिटा युवा क्लबका अध्यक्ष अनिल गुप्ताले जानकारी दिएका छन्