काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मङ्गलबार काँकरभिट्टा खेलमैदानमा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा इलामले पाहुना टोली कञ्चनजङ्गा फुटबल क्लब, सिलिगुडी (भारत) लाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। योसँगै सेमिफाइनलमा उसले बिर्तामोड युनाइटेड झापासँगको भेट पक्का गरेको छ।
खेलमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरेका थिए। रेड हर्ष इलामले बलमा नियन्त्रण कायम राख्दै निरन्तर दबाब सिर्जना गरिरहँदा भारतीय टोलीले पनि तीव्र काउन्टर अट्याकमार्फत गोल गर्ने प्रयास गरेको थियो। तर दुवै टोलीका गोलरक्षक र रक्षापङ्क्तिले उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा इलामले खेलमाथि थप पकड बनायो। प्रतिफलस्वरूप विवेक सुनामले पेनाल्टी बक्सबाट दिएको क्रस पासलाई दीक्षान्त राईले कुनै गल्ती नगरी बललाई जाली चुमाउँदै रेड हर्स एफसीलाई अग्रता दिलाए। त्यसपछि इलामले रक्षात्मक रूपमा खेल प्रदर्शन गर्दै अग्रता जोगायो भने कञ्चनजङ्गाले बराबरी गोल फर्काउने प्रयास गरे पनि फिनिसिङ कमजोर हुँदा सफलता हात पार्न सकेन। प्राप्त अवसरहरूको सदुपयोग गर्न नसक्दा भारतीय टोली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो।
इलामको समग्र प्रदर्शनमा मिडफिल्ड र रक्षापङ्क्तिको समन्वय उत्कृष्ट देखिएको थियो। टोलीले बल पोजेसन, पासिङ र खेलको लयलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। रेड हर्स अन्तिम टोलीका रूपमा सेमीफाइनल प्रवेश गरेसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ।
उत्कृष्ट प्रदर्शन गरेका रेड हर्स एफसी इलामका हेमन लिम्बु म्यान अफ द म्याच घोषित भए। उनले नगद रु. २,५०० सहित ट्रफी प्राप्त गरे।

अब प्रतियोगिता सेमिफाइनल चरणमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेलमा एपीएफ पकली, सुनसरी र उर्लाबारी फुटबल क्लब, मोरङ आमनेसामने हुनेछन्। दुवै टोली उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रने भएकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
काकरभिट्टा युथ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा नेपालका ६ तथा भारतका २ गरी कुल ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल साउन १६ गते हुनेछ। विजेता टोलीले रु. १ लाख १ हजार १०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार ५५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। यसका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका उपाध्यक्ष मानबहादुर तामाङले जानकारी दिएका छन्।