बुद्धशान्ति झापा ।। बुद्धशान्ति गाउँपालिका–१ स्थित बुद्ध आदर्श माविको खेलमैदानमा साउन २१ देखि २४ गतेसम्म बुधबारे युनाइटेड कप लिग–नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बुधबारे युनाइटेड फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरेको हो।
स्थानीय स्तरमा फुटबलको विकास, प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने तथा गाउँस्तरीय खेल गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यका साथ बुद्धशान्ति गाउँपालिकाभित्र रहेका ६ वटा फुटबल क्लबलाई दुई समूहमा विभाजन गरी लिग–नकआउट प्रणालीमा प्रतियोगिता सञ्चालन गरिने प्रतियोगिता संयोजक कर्मा शेर्पाले जानकारी दिनुभयो। दुवै समूहका विजेताबीच उपाधिका लागि फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ।
पत्रकार सम्मेलन बुद्ध आदर्श युवा क्लबका अध्यक्ष मनोज थेगिम लिम्बुको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सोही अवसरमा बुद्ध आदर्श युवा क्लबका युवा खेलाडीलाई २५ थान जर्सीसमेत वितरण गरिएको थियो।
कार्यक्रममा एन पेनाङ फुटबल क्लबका प्रतिनिधि नारायण अर्यालले स्थानीय तहबाट युवा खेलाडीलाई फुटबलतर्फ प्रेरित गर्ने उद्देश्यले आफ्नो क्लबले सहयोग गरेको र स्थानीय साना भाइहरूलाई फुटबल जर्सी उपलब्ध गराउँदै सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। प्रमुख अतिथि वडाध्यक्ष अनिल वाग्लेले स्थानीय खेलकुदको विकास र खेलाडीको मनोबल बढाउन यस्ता प्रतियोगिता प्रभावकारी हुने उल्लेख गर्दै आयोजक तथा सहयोगी संस्थाको प्रशंसा गर्नुभयो।
कार्यक्रममा विभिन्न फुटबल क्लबका अध्यक्ष, खेलाडी, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। आयोजकले प्रतियोगितालाई सफल बनाउन सबै खेलप्रेमी, संघसंस्था तथा सरोकारवालाको साथ र सहयोगको अपेक्षा गरेको जनाएको छ।