झापा साउन २१ ।। झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि बुधबारे युनाइटेड कप समूह चरण तथा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
समूह ‘ए’ अन्तर्गत आज भएका तीन खेलपछि होक्से युवा क्लब शतप्रतिशत नतिजासहित ६ अंक जोड्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। आदर्श युवा क्लब ३ अंकका साथ समूह उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको छ भने दुवै खेलमा पराजित न्यु स्टार युथ क्लब, भोटेटार अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

आजको पहिलो खेलमा आदर्श युवा क्लबले न्यु स्टार युथ क्लब, भोटेटारलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। दोस्रो खेलमा होक्से युवा क्लबले पनि न्यु स्टारलाई ३–० गोल अन्तरले हराउँदै जित दर्ता गर्यो। दिनको अन्तिम तथा समूह विजेताको टुंगो लगाउने खेलमा होक्से युवा क्लबले आदर्श युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ६ अंकसहित समूह ‘ए’ को विजेता बन्यो। पराजयका बाबजुद आदर्श युवा क्लब ३ अंकका साथ समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो।
प्रतियोगिताअन्तर्गत भोलि समूह ‘बी’ का तीन खेल हुनेछन्। पहिलो खेलमा आइतबारे युथ क्लब र ब्रदर्स एफसी आमनेसामने हुनेछन्। दोस्रो खेलमा आइतबारे युथ क्लबले मङ्गलबारे युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ भने दिनको अन्तिम खेलमा ब्रदर्स एफसी र मङ्गलबारे युनाइटेडबीच भिडन्त हुनेछ। यी तीन खेल सम्पन्न भएपछि समूह ‘बी’ बाट समूह विजेता र उपविजेताको टुंगो लाग्ने आयोजकले जनाएको छ।
बुद्धशान्ति गाउँपालिकाभित्र रहेका छवटा फुटबल क्लबलाई समेटेर आयोजना गरिएको प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीलाई अवसर प्रदान गर्दै स्थानीय तहबाटै फुटबलको विकासलाई टेवा पुर्याउनु रहेको आयोजक बुधबारे युनाइटेड क्लबले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल साउन २४ गते हुनेछ। विजेता टोलीले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिएका छन्।