बिर्तामोड झापा ।। बुद्धशान्ति–४, मङ्गलबारेमा आयोजना हुन लागेको तेस्रो संस्करणको मङ्गलबारे युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको मङ्गलबारे युनाइटेड फुटबल क्लबले यसपटकको प्रतियोगितालाई विगतका संस्करणभन्दा अझ व्यवस्थित, परिस्कृत र भव्य बनाउने तयारी गरेको छ।
भोलिबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा डिएफसी बाहुनडाँगी र धाइजन चारआली फुटबल क्लब आमनेसामने हुँदैछन्। बुद्धशान्ति–४ स्थित मङ्गलबारे खेलमैदानमा हुने खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ।
स्थानीय फुटबलको विकाससँगै प्रतिभावान खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको यस संस्करणमा झापाका आठ उत्कृष्ट फुटबल क्लब सहभागी हुँदैछन्।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत ट्रफी र नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ।
पहिलो र दोस्रो संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाउँदै यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको प्रतियोगिता संयोजक राम भण्डारीले बताए। प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा मात्र नभई स्थानीय खेलाडीको प्रतिभा उजागर गर्ने, स्थानीय फुटबलको स्तर उकास्ने तथा मङ्गलबारेको खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने माध्यम बनाउने आयोजकको लक्ष्य छ।
स्थानीय स्तरमै स्तरीय फुटबल प्रतियोगिताको निरन्तरता कायम राख्दै तेस्रो संस्करणलाई थप भव्य बनाउने तयारीले मङ्गलबारेमा फुटबलप्रेमीको उत्साहसमेत बढाएको छ। आयोजकका अनुसार प्रतियोगितामा खेल मैदान व्यवस्थापनदेखि प्राविधिक तथा अन्य व्यवस्थापकीय पक्षलाई समेत विगतका संस्करणभन्दा थप व्यवस्थित बनाइएको छ।
आयोजकले आसपासमा हुने दर्शकलाई मैदानमै आएर खेलाडीको हौसला बढाउँदै खेल हेरिदिन समेत आग्रह गरेको छ। टाढा टाढा हुने दर्शकका लागि यो खेलको प्रत्यक्ष प्रसारण गेम अफ नेपालमा रहनेछ