Skip to main content

साझा अक्षर

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

 

बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शिवसताक्षी–७, ब्याङडाँडा स्थित भगवती माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा कन्काईले आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। अब कन्काईले उपाधिका लागि बिर्तामोड युनाइटेड झापासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही उत्कृष्ट अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन। सुरुवातदेखि नै आक्रामक देखिएका दुवै टोलीले एकअर्कामाथि दबाब सिर्जना गरे पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा दुवै टोली थप रणनीतिका साथ मैदानमा उत्रिए। खेलको दोस्रो हाफमा आयोजक ब्याङडाँडाले आक्रमणलाई तीव्रता दियो। त्यसैक्रममा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका रुसल मगरले गोल गर्दै आयोजकलाई १–० को अग्रता दिलाए।
एक गोलले पछि परेको कन्काईले त्यसपछि खेलमा आफ्नो पकड बलियो बनाउँदै लगातार आयोजकमाथि दबाब सिर्जना गर्‍यो। स्टार खेलाडीहरूले भरिएको कन्काईले बराबरीका लागि निरन्तर आक्रमण गरिरह्यो।
त्यसक्रममा नेपालका अन्तर्राष्ट्रिय खेलाडी सनीस श्रेष्ठले राइट साइडबाट गरेको प्रहार आयोजकका गोलरक्षक युवराज पुरीले नियन्त्रणमा लिन खोज्दा बल हातबाट फुत्किएर गोलमा परिणत भयो। यससँगै खेल १–१ को बराबरीमा पुग्यो।

त्यसपछि दुवै टोलीले विजयी गोलका लागि आक्रमणलाई निरन्तरता दिए पनि थप गोल हुन सकेन। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो।

ट्राइब्रेकरमा कन्काई स्पोर्टिङ क्लबका रोहन कार्की, सौरभ लिम्बु, सनीस श्रेष्ठ, आशिष लावती र आदित्य बानियाले गोल गरे।
यता आयोजक ब्याङडाँडा फुटबल क्लबका सेवन थापा मगर, मिराक लिम्बु, निस्कुमार श्रेष्ठ र आयुष राईले गोल गरे पनि हेमन लिम्बुको प्रहार बाहिरिँदा आयोजकको फाइनल यात्रा टुंगियो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका कन्काई स्पोर्टिङ क्लबका आशिष लावती म्यान अफ द म्याच घोषित भए। उनलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रथम ब्याङडाँडा च्यालेन्ज कपको फाइनल खेल आगामी भदौ १२ गते हुनेछ। उपाधिका लागि बिर्तामोड युनाइटेड झापा र कन्काई स्पोर्टिङ क्लब सुरुङ्गाबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेका दुवै टोलीमा विभिन्न ए डिभिजन क्लब तथा राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीको समेत सहभागिता रहेकाले फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

भदौ ५ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा कोशी प्रदेशका आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता  ब्याङडाँडा फुटबल क्लबले आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...