सुरुङ्गा, झापा । झापाको कन्काई नगरपालिका–सुरुङ्गामा दोस्रो कन्काई मिनी गोल्डकप २०८३ आयोजना हुने भएको छ। कन्काई स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी असोज २३ गतेदेखि ३० गतेसम्म कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएको हो।प्रतियोगिताका लागि आयोजकले सहभागी टोलीहरूको खेलतालिकासमेत सार्वजनिक गरेको जनाएको छ। पूर्वी नेपालमा सक्रिय तथा चर्चित आठ फुटबल टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगितामा चात्यासा एफसी, बिर्तामोड युनाइटेड, शनिश्चरे एफसी, उर्लाबारी एफसी, रेड हर्स एफसी, मकालु एफसी, कन्काई स्पोर्टिङ क्लब र रोयल जुडाह एफसी सहभागी हुने आयोजकले जनाएको छ।स्थानीयस्तरमा फुटबल गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितालाई यस क्षेत्रका खेलाडी तथा फुटबलप्रेमीले चासोका साथ हेरेका छन्। आठ टोलीको सहभागिताले प्रतियोगितामा प्रतिस्पर्धा थप रोचक बन्ने आयोजकको अपेक्षा छ।प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कन्काई स्पोर्टिङ क्लबले जनाएको छ। खेलमैदान व्यवस्थापन, सहभागी टोलीको टुङ्गो र आर्थिक स्रोत व्यवस्थापनलगायतका कामहरू अन्तिम चरणमा पुगेका छन्।प्रतियोगिताको पुरस्कार राशि, खेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी थप विवरण भने छिट्टै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कन्काई स्पोर्टिङ क्लबका अध्यक्ष इन्द्रजित बुढाले बताएका छन्।अध्यक्ष बुढाका अनुसार प्रतियोगिता स्थानीय तथा पूर्वी नेपालको फुटबल विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै फुटबलप्रतिको आकर्षण र सहभागिता बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।असोज २३ गतेदेखि सुरु हुने प्रतियोगितामा पूर्वी नेपालका आठ टोलीबीच हुने प्रतिस्पर्धाले सुरुङ्गाको खेलमैदानमा फुटबलको माहोल थप तताउने अपेक्षा गरिएको छ। प्रतियोगितालाई सफल बनाउन स्थानीय खेलप्रेमी, संघसंस्था तथा सरोकारवाला पक्षको सहयोग रहने आयोजकले जनाएको छ।