झापा, असार १२ । उज्यालो नेपाल पार्टी प्रदेश नं. १ समितिको आयोजनामा शुक्रबार झापाको बिर्तामोडस्थित मारवाडी सेवा समितिको सभा हलमा प्रदेशस्तरीय जिल्ला समायोजन तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
पार्टीका झापा जिल्ला संयोजक चूडा कर्ण(सी के) बेघाको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला तदर्थ समितिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला कार्यसमिति तथा जनसङ्गठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष प्रा डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी केन्द्रीय सदस्य ओरिसम पालुङवा, केन्द्रीय सचिवालय सदस्य ज्योतिका राई,एक न प्रदेश अध्यक्ष बिराज आंगदेम्बे तथा युवा संयोजक प्रदेश नं. १ प्रवेश थापा मगर लगायतका नेताहरूको सहभागिता रहेको थियो।

बैठकमा पार्टीको संगठन विस्तार, जिल्ला समायोजन, आगामी कार्ययोजना तथा संगठनलाई अझ प्रभावकारी र सशक्त बनाउने विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले प्रदेशअन्तर्गतका जिल्ला समितिलाई थप सक्रिय र सुदृढ बनाउने, वडा तथा पालिका तहसम्म संगठन विस्तार गर्ने, जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने तथा पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा जोड दिएका थिए।
त्यसैगरी, उज्यालो नेपाल पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न संगठनात्मक एकता, अनुशासन र सक्रियता अपरिहार्य रहेको निष्कर्ष बैठकले निकालेको छ। स्थानीय तहका समस्या, जनचासोका विषय तथा आगामी राजनीतिक रणनीतिबारे पनि सहभागीबीच अन्तरक्रियात्मक छलफल भएको थियो।
बैठकले संगठनलाई जनस्तरसम्म विस्तार गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। उज्यालो नेपाल पार्टीले देशभर संगठन विस्तारलाई तीव्रता दिँदै जनताको विश्वास जित्ने अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ।
कार्यक्रमको सहजीकरण झापा जिल्ला सचिव श्याम कृष्ण पाठकले गरेका थिए।

