झापा, असार १३ – पर्यटन पत्रकार मञ्च झापाको प्रथम साधारणसभा तथा पहिलो अधिवेशन शनिबार बिर्तामोडमा सम्पन्न भएको छ। अधिवेशनले कमलप्रसाद पाण्डे विनोदको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्प बराल, सचिवमा हिमाल खरेल, सहसचिवमा तिलक तामाङ र कोषाध्यक्षमा प्रकाश बानियाँ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रेमकुमार आचार्य, विष्णुकुल श्रेष्ठ, निश्चल आचार्य र टिकाराम बास्तोला रहेका छन्।
अधिवेशनको उद्घाटन पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा पर्यटन कार्यालयका अधिकृत निरज कट्टेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेल, पर्यटन मञ्च झापाका अध्यक्ष उदय श्रेष्ठ, बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकी, सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मञ्चको संगठन विस्तारका लागि नयाँ सदस्यता अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
नवनिर्वाचित अध्यक्ष कमलप्रसाद पाण्डेले पर्यटन पत्रकारितालाई अझ प्रभावकारी बनाउँदै झापासहित कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न मञ्च सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूको क्षमता अभिवृद्धि, पर्यटन प्रवर्द्धन तथा पर्यटनसँग सम्बन्धित विषयवस्तुको गुणस्तरीय समाचार सम्प्रेषणमा मञ्चले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।