खेल दौरान मैदानमा गम्भीर घाइते भई उपचाररत युवा नेपाली फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा सञ्चालन गरिएको सहयोग अभियानबाट करिब १२ लाख रुपैयाँ संकलन भएको हो।
एन पेनाङ एफसीले आशिषको उपचारमा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ मलेसियाको पेनाङमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगिता तथा विभिन्न सहयोगात्मक गतिविधिबाट २१ हजार १४४ मलेसियन रिङ्गिट (करिब ७ लाख ८४ हजार १६१ रुपैयाँ) संकलन भएको क्लबले जनाएको छ।
यस अभियानलाई थप बल पुर्याउँदै अष्ट्रेलियास्थित नेपबोर्न एफसीले ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेपछि आशिषको उपचारका लागि संकलित रकम ११ लाख ८४ हजार १६१ रुपैयाँ पुगेको छ, जुन करिब १२ लाख रुपैयाँ बराबर हो।
परोपकारी उद्देश्यसहित आयोजित उक्त मैत्रीपूर्ण खेलमा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसीबीच अस्ट्रेलिया बीच खेलहरू सम्पन्न भएका थिए। प्रतियोगितासँगै सहयोगको सन्देश फैलाउने उद्देश्यले भेट्रान्स तर्फ पनि विशेष मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो।
भेट्रान्स तर्फ एन पेनाङ भेट्रान्स र झापा भेट्रान्स बीच सम्पन्न खेलबाट उठेको सम्पूर्ण रकम समेत आशिष राईको उपचार कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ।
मलेसियामा सक्रिय एन पेनाङ एफसी नेपाली फुटबलसँग निरन्तर जोडिँदै आएको क्लब हो। नेपालका विभिन्न गोल्डकप प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको क्लबले स्थानीय क्लबहरूलाई सहयोग, खेलाडी प्रोत्साहन तथा सामाजिक अभियानहरूमा पनि सक्रिय भूमिका खेल्दै आएको छ।
घाइते खेलाडीको उपचारका लागि प्रवासमा नेपाली फुटबल समुदायले देखाएको यो ऐक्यबद्धता खेलप्रतिको जिम्मेवारी, मानवीय भावना र आपसी सहयोगको सशक्त उदाहरणका रूपमा हेरिएको छ।