बिर्तामोड साउन २७।। विद्यालय स्तरबाटै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले मेचीनगरमा ‘मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल’ सञ्चालन हुने भएको छ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा साउन २९ गतेदेखि काँकरभिट्टा माविको मैदानमा सुरु हुने प्रतियोगितामा मेची नगरभित्रका ९ विद्यालयहरु सहभागी हुनेछन्
९ वटा विद्यालयलाई दुई समूहमा विभाजन गरेर सञ्चालन गरिने प्रतियोगिताका खेलहरू हरेक हप्ताको शनिबार र आइतबार मात्र हुनेछन्। पोल ‘ए’ मा नर्थ प्वाइन्ट, सूर्योदय, अरुणोदय, झापा नेशनल र पशुपति बोर्डिङ रहेका छन् भने पोल ‘बी’ मा तारापुञ्ज, गंगा मेमोरियल, काँकरभिट्टा मावि र लोफोफोरस बोर्डिङ छन्। प्रतियोगिताको उद्घाटन खेल सूर्योदय र नर्थ प्वाइन्टबीच हुनेछ।
करिब ४ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय रहेको छ। प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसका साथै सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार १ सय, विधागत उत्कृष्ट (कोच, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, सर्वाधिक गोलकर्ता) लाई जनही २ हजार ५ सय र म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिनेछ।
विद्यालयस्तरमै स्वस्थ प्रतिस्पर्धा, अनुशासन र टिमवर्कको विकास गर्दै भावी दिनमा जिल्ला तथा प्रदेश स्तरका खेलाडी तयार पार्न यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने आयोजकको विश्वास छ।