बुद्धशान्ति झापा । बुद्धशान्ति–४ स्थित मङ्गलबारे खेलमैदानमा जारी तेस्रो मङ्गलबारे च्यालेन्ज कप फुटबल प्रतियोगितामा धुलाबारी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको तेस्रो दिन शनिबार भएको क्वार्टरफाइनल खेलमा धुलाबारी एफसीले जलथल एफसीलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुङ्गो ट्राइब्रेकरबाट लगाइएको थियो। खेलको दोस्रो हाफमा धुलाबारीका सन्देश खवासले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको अतिरिक्त समयमा जलथलका राम लिम्बुले बराबरी गोल फर्काएपछि निर्धारित समय बराबरीमा टुङ्गिएको थियो।
ट्राइब्रेकरमा धुलाबारीले ४ गोल गर्दा जलथलले ३ गोल मात्र गर्न सक्यो। धुलाबारीका संजोग भुजेलको प्रहार जलथलका गोलकिपर राजेश राईले रोकेका थिए। यता, जलथलका जेनिथ बरालको प्रहार बाहिरिएको थियो। निर्णायक प्रहारमा जलथलका दिपेश श्रेष्ठको प्रहार धुलाबारीका गोलकिपर युवराज डाँगीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका धुलाबारी एफसीका गोलकिपर युवराज डाँगी ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई बुद्धशान्ति–४ खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेन्याङ्बो र खेल संयोजक राम भण्डारीले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत आइतबार अन्तिम क्वार्टरफाइनल खेलमा आदर्श मैदान बिर्तामोड र बुधबारे युथ क्लब बुद्धशान्तिबीच प्रतिस्पर्धा हुनेछ।
मङ्गलबारे युनाइटेड फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुने छ। विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।