झापा । मङ्गलबारे युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा बुधबारे फुटबल टिमलाई ट्राइब्रेकरमा पराजित गर्दै निधि आदर्श बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ। निधिको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ।
बुद्धशान्ति–४ स्थित मङ्गलबारे खेलमैदानमा आइतबार भएको अन्तिम क्वाटरफाइनलमा निधि आदर्शले बुधबारे फुटबल टिमलाई ट्राइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गरेको हो।
निर्धारित ६० मिनेटको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। दुवै टोलीको रक्षापंक्ति निकै मजबुत देखिँदा अग्रपंक्तिका खेलाडीलाई विपक्षीको रक्षा तोडेर गोल गर्न कठिन भएको थियो। फलस्वरूप निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो।
ट्राइब्रेकरमा निधि आदर्शका अनमोल कार्की, प्रज्ञान राई, रिजमान दर्जी, आदित्य बानियाँ र लिम्बुले गोल गरे। बुधबारेका भूपाल मगर, धीरज मगर, सुजन मगर र गोल गर्दा क्षितिज अधिकारीको प्रहारलाई निधि आदर्शका गोलकिपर ईश्वर कार्कीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए।
निर्णायक बचाउसहित उत्कृष्ट प्रदर्शन गरेका निधि आदर्शका गोलकिपर ईश्वर कार्की खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई बुद्धशान्ति वडा नं. ४ खेलकुद विकास समितिका अध्यक्ष अर्जुन माबुहाङ लिम्बुले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।
प्रतियोगिताअन्तर्गत सोमबारदेखि सेमिफाइनलका खेल सुरु हुनेछन्। पहिलो सेमिफाइनलमा धाइजन चारआली फुटबल क्लब र धुलाबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा निधि आदर्श बिर्तामोडले सी एफ सी गौरादह सग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक राम भण्डारीले जानकारी दिए।
स्थानीयस्तरमा रहेका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्दै झापामा फुटबलको विकासलाई स्थानीय तहबाटै अघि बढाउने उद्देश्यले साउन २८ गतेदेखि प्रतियोगिता सञ्चालन भइरहेको हो। मङ्गलबारे युनाइटेड फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा झापाका विभिन्न आठ फुटबल क्लबको सहभागिता रहेको छ।