बुद्धशान्ति झापा । धाइजन चाराली फुटबल क्लब मङ्गलबारे युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
बुद्धशान्ति–४ स्थित मङ्गलबारे खेलमैदानमा आज भएको पहिलो सेमिफाइनलमा धाइजन चारआलीले धुलाबारी एफसी झापालाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा धाइजन चारआलीलाई जित दिलाउन दोस्रो हाफको सातौँ मिनेटमा मनोज राईले गरेको गोल निर्णायक बन्यो।

चर्चित तथा अनुभवी खेलाडीका साथ मैदानमा उत्रिएका दुवै टोलीले सुरुवातदेखि नै उत्कृष्ट र प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।
धुलाबारी एफसीले गोल गर्ने केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिनुपर्यो। जितसँगै धाइजन चारआली प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका धाइजन चारआलीका जमिन लक्सम म्यान अफ द म्याच घोषित भए। उनलाई बुद्धशान्ति–४ खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेनेङ्बो तथा प्रतियोगिता संयोजक राम भण्डारीले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत भोलि दोस्रो सेमिफाइनल खेल हुनेछ। दोस्रो सेमिफाइनलमा सीएफसी गौरादह र निधि आदर्श बिर्तामोडबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। उक्त खेलको विजेताले फाइनलमा धाइजन चारआलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
मङ्गलबारे युनाइटेड फुटबल क्लबको आयोजनामा साउन २८ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुने छ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विधागत खेलाडीहरूलाई समेत ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।