बुद्धशान्ति झापा । मङ्गलबारे युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शानदार जित निकाल्दै सीएफसी गौरादह फाइनलमा प्रवेश गरेको छ।
गौरादहले निधि आदर्श बिर्तामोडलाई ४–३ गोलअन्तरले पराजित गर्दै उपाधिका लागि धाइजन चाराली फुटबल क्लबसँगको भेट पक्का गरेको हो।
बुद्धशान्ति–४ स्थित मङ्गलबारे खेलमैदानमा मंगलबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा गौरादहले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको १५औँ मिनेटमा क्रिशल थापाले गोल गर्दै गौरादहलाई १–० को अग्रता दिलाए। त्यसपछि दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि पहिलो हाफमा थप गोल हुन सकेन।
दोस्रो हाफमा दुवै टोली थप रणनीतिका साथ मैदानमा उत्रिए। खेलको ३६औँ मिनेटमा करण थापाले गोल गर्दै गौरादहको अग्रता २–० मा पुर्याए।
दुई गोलले पछि परेको निधि आदर्श त्यसपछि आक्रामक रूपमा प्रस्तुत भयो। ३९औँ मिनेटमा सुदर्शन लिम्बुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसको चार मिनेटपछि, ४३औँ मिनेटमा आदित्य बानियाले गोल गर्दै निधि आदर्शलाई २–२ को बराबरीमा फर्काए।
बराबरीपछि खेल थप रोमाञ्चक बन्यो। दुवै टोलीले लगातार आक्रमण गरे। खेलको ५१औँ मिनेटमा करण थापाले व्यक्तिगत दोस्रो गोल गर्दै गौरादहलाई पुनः ३–२ को अग्रता दिलाए। त्यसपछि ६६औँ मिनेटमा च्याङ्बा तामाङले गोल गर्दै गौरादहको अग्रता ४–२ पुर्याए।
निधि आदर्शले हार मानेन। खेलको अन्तिम समयमा रिकमान दर्जीले गोल गर्दै टोलीलाई ४–३ को अवस्थामा ल्याए। बाँकी समयमा बराबरी गोलका लागि निधि आदर्शले निरन्तर प्रयास गरे पनि सफल हुन सकेन। अन्ततः गौरादहले ४–३ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गर्यो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सीएफसी गौरादहका क्रिशल थापा म्यान अफ द म्याच घोषित भए। उनलाई बुद्धशान्ति–४ का जनप्रतिनिधि तथा प्रतियोगिता संयोजक राम भण्डारीले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

झापाका विभिन्न आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आगामी भदौ ४ गते बिहीबार मङ्गलबारे खेलमैदानमा हुनेछ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीयस्तरमा रहेका फुटबल खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै फुटबल खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले मङ्गलबारे युनाइटेड फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो।