झापा भाद्र ५ ।। प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०८३ आजबाट सुरु भएको छ।
ब्याङडाँडा युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा फराकिलो जित निकाल्दै बिर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।
शिवसताक्षी–७, ब्याङडाँडास्थित भगवती माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको उद्घाटन खेलमा बिर्तामोड युनाइटेडले कोशी प्रहरी क्लब विराटनगरलाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। सुरुवातदेखि नै आक्रामक र दबदबापूर्ण खेल प्रस्तुत गरेको बिर्तामोडले खेल अवधिभर कोशी प्रहरीमाथि निरन्तर दबाब सिर्जना गरेको थियो।
बिर्तामोडको जितमा आशिष टुडुले दुई गोल गर्दा आशिष चापागाईं र पवन बास्केले एक–एक गोल गरे। कोशी प्रहरीले भने उपहारस्वरूप एक गोल प्राप्त गरेको थियो। बिर्तामोडका डिफेन्डरले हेडमर्फत बल क्लियर गर्ने क्रममा आफ्नै गोलपोस्टमा आत्मघाती गोल हुन पुग्यो ।
खेलको सुरुवाती चरणदेखि नै बलमाथि राम्रो नियन्त्रण कायम राख्दै आक्रामक फुटबल खेलेको बिर्तामोडले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि उसले आफ्नो लयलाई निरन्तरता दिँदै थप दुई गोल गर्न सफल भयो। लगातार आक्रमण बुन्दै उत्कृष्ट खेल प्रदर्शन गरेको बिर्तामोडले अन्ततः ४–१ को सहज जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गर्यो।
उद्घाटन खेलमा बिर्तामोडका लागि उत्कृष्ट प्रदर्शन गरेका प्रशान्त लक्षम म्यान अफ द म्याच घोषित भए। उनलाई प्रतियोगिता संयोजक चन्द्रहाङ लिङ्देन तथा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेघराज थोप्राले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थोप्राले शिवसताक्षीमा आयोजना गरिएको ब्याङडाँडा च्यालेन्ज कपले स्थानीय तथा प्रदेशस्तरको फुटबल विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनले खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान र विकास गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा समेत यस्ता प्रतियोगितालाई आवश्यक सहयोग र प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, स्थानीय खेलकर्मी, सामाजिक व्यक्तित्व तथा ठूलो संख्यामा खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको उद्घाटनसँगै ब्याङडाँडाको खेलमैदानमा फुटबलप्रेमीहरूको उत्साहसमेत उल्लेख्य देखिएको थियो।
प्रतियोगिताअन्तर्गत भोलि दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ। भोलिको खेलमा जलथल फुटबल क्लब र दमक फुटबल क्लब आमनेसामने हुनेछन्। दुवै टोली जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
कोशी प्रदेशभित्रका चर्चित आठ वटा फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारबाट समेत सम्मान गरिने आयोजक समितिका संयोजक चन्द्रहाङ लिङ्देनले जानकारी दिए। विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रथम संस्करणमै आकर्षक पुरस्कार, प्रदेशका चर्चित क्लबहरूको सहभागिता र उत्कृष्ट प्रतिस्पर्धाका कारण ब्याङडाँडा च्यालेन्ज कपले शीवसताक्षी क्षेत्रमा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।