बिर्तामोड झापा ।। जलथल एफसी झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शिवसताक्षी–७, ब्याङडाँडास्थित भगवती माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा दमक फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जलथलले अन्तिम चारमा स्थान बनाएको हो।
जलथलको जितमा सागर तिवारीले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। दमकका खेलाडीहरू सम्हालिन नपाउँदै राइट साइडबाट सागरले गरेको शक्तिशाली प्रहारले जाली चुमेपछि जलथलले सुरुवाती अग्रता बनाएको थियो।
एक गोलले पछि परेको दमकले त्यसपछि खेलमा फर्किन लगातार आक्रमण बुनेको थियो। दोस्रो हाफमा दमकले अझ आक्रामक खेल प्रस्तुत गर्दै गोलका केही राम्रा अवसर सिर्जना गरे पनि जलथलको बलियो रक्षापंक्तिलाई पार गर्न सकेन।
दमकका खेलाडीले बक्स बाहिरबाट गरेका केही प्रहारलाई जलथलका गोलकिपर राजेश राईले उत्कृष्ट बचाउ गर्दै विफल पारे। दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि अन्तिम प्रहारमा चुक्दा खेलमा थप गोल हुन सकेन। निर्धारित समय सकिँदा सागर तिवारीको सुरुवाती गोल नै जलथलको जितका लागि पर्याप्त बन्यो।
उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका जलथल एफसीका सागर तिवारी खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई खेलका प्रमुख अतिथि तथा प्रतियोगिता संयोजकले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत आइतबार तेस्रो क्वार्टरफाइनल खेल हुनेछ। उक्त खेलमा कन्काई फुटबल क्लब सुरुङ्गा, झापा र सुन्दरहरैँचा, मोरङ आमनेसामने हुनेछन्।
कोशी प्रदेशका आठ स्तरीय टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय स्तरबाटै फुटबलको विकास गर्दै स्थानीय खेलाडीलाई अवसर सिर्जना गर्ने तथा शिवसताक्षीलाई फुटबल पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ब्याङडाँडा फुटबल क्लबले जनाएको छ।