शिवसताक्षी झापा ।।। टाइब्रेकरमा रोमाञ्चक जित निकाल्दै कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शिवसताक्षी–७ ब्याङडाँडास्थित भगवती माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न तेस्रो क्वार्टर फाइनल खेलमा मोरङको जनसहयोग युवा क्लबलाई टाइब्रेकरमा ३–० गोलअन्तरले पराजित गर्दै कन्काई स्पोर्टिङ अन्तिम चारमा प्रवेश गरेको हो।
निर्धारित ७० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लगाइएको थियो। टाइब्रेकरमा कन्काईका आर के कन्दङबा, आदित्य बानियाँ र कुशल न्यौपानेले गोल गरे। पराजित जनसहयोगका पूजन चौधरी र सुजन लिम्बूको प्रहार कन्काईका गोलकिपर अनुप गोलेले उत्कृष्ट बचाउ गरे। सुमन मगरको प्रहार भने गोलपोस्ट माथिबाट बाहिरिँदा जनसहयोग ३–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो
कन्काईले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। निमा तामाङले उत्कृष्ट गोल गर्दै कन्काईलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यसपछि जनसहयोगले खेलमा दबाब बढाउँदै पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो। जनसहयोगका लागि सनिश लिम्बूले गोल गरेका थिए।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दै गोलका केही राम्रा अवसर सिर्जना गरे पनि अन्तिम प्रहारमा चुक्दा थप गोल हुन सकेन। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।
कन्काईको जितमा उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर अनुप गोले खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई खेलका प्रमुख अतिथि झापा महिला गोल्डकपका अध्यक्ष तथा एनी स्पोर्ट्स ब्रान्डका सञ्चालक सन्तोष थोप्राले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत भोलि अन्तिम क्वार्टर फाइनल खेल हुनेछ। आयोजक समितिका अध्यक्ष चन्द्रहाङ लिम्बदेनका अनुसार भोलिको खेल आयोजक ब्याङडाँडा स्पोर्टिङ क्लब र एन्फा एकेडेमी धरानबीच हुनेछ।
कोशी प्रदेशका विभिन्न आठ उत्कृष्ट टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुनेछ। विजेताले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।