आयोजक व्यङ्गडाँडा फुटबल क्लब जारी बेङ्गडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। योसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ। यस अघिका खेलबाट बिर्तामोड युनाइटेड झापा, जलथल एफसी झापा र कन्काई स्पोर्टिङ्ग क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।
झापाको शिवसताक्षी–७, ब्याङडाँडास्थित भगवती माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको अन्तिम क्वार्टरफाइनलमा एन्फा एकेडेमी धरानलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक ब्याङडाँडा फुटबल सेमिफाइनल प्रवेश गरेको हो। आयोजकका लागि निरज कार्की र मिराक लिङ्देन ले गोल गरे। खेलको आठौँ मिनेटमै गोल गर्दै निरजले आयोजकलाई सुरुवाती अग्रता दिलाए। लगातार आक्रमणलाई निरन्तरता दिएको ब्याङडाँडाले खेलको १८औँ मिनेटमा मिराक लिङ्गदेनको गोलमार्फत अग्रता २–० मा पुर्यायो।
पहिलो हाफ २–० को अवस्थामा सकिएको खेलको दोस्रो हाफ भने थप प्रतिस्पर्धात्मक बन्यो। एन्फा एकेडेमी धरानले खेलमा दबाब बढाउँदै आयोजकमाथि लगातार आक्रमण गर्यो। डिबक्स बाहिर प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै धरानका प्रज्वल तामाङले गरेको उत्कृष्ट प्रहार सिधै गोलमा परिणत भएपछि खेल २–१ को अवस्थामा पुगेको थियो। आयोजकका गोलरक्षक युवराज पुरीले प्रहार रोक्ने कुनै अवसर पाएनन्।
त्यसपछि दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। खेलको अन्तिमतिर आयोजकले पुनः आक्रामक खेल प्रस्तुत गर्दै धरानमाथि दबाब बनाए पनि थप गोल हुन नसकेपछि ब्याङडाँडाले २–१ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजकका निरज कार्की म्यान अफ द म्याच घोषित भए। उनलाई कार्यक्रमका प्रमुख अतिथि किशोर राईलगायतले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत भोलिदेखि सेमिफाइनलका खेल सुरु हुनेछन्। पहिलो सेमिफाइनलमा बिर्तामोड युनाइटेड झापा र जलथल एफसी झापा आमनेसामने हुनेछन्। दोस्रो सेमिफाइनलमा आयोजक ब्याङडाँडा फुटबल क्लब र कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापा बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुने आयोजकले जनाएको छ। उपाधि विजेताले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै प्रतियोगिताका विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक चन्द्रहाङदेनले जानकारी दिए।
स्थानीय स्तरमा फुटबल खेलको विकास, स्थानीय खेलाडी तथा फुटबल क्लबको प्रवर्द्धन र लामो समयदेखि नियमित रूपमा हुन नसकेको फुटबल प्रतियोगितालाई पुनः निरन्तरता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। फुटबलको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान र विकाससँगै शिवसताक्षी क्षेत्रको खेलकुद विकासमा योगदान पुर्याउने लक्ष्य आयोजकको रहेको छ।