इलाम असोज १५ ।। इलामको रोङ गाउँपालिका–४ मा प्रथम सिसौबोटे खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। कालिटार युवा समाज, रोङ–४ को आयोजनामा आगामी कार्तिक ७ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्रतियोगिताबारे आयोजकले बिहीबार सिसौबोटे खेलमैदानमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। प्रतियोगितामा इलाम र झापाका गरी १६ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै स्थानीय तहबाटै फुटबलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक कालिटार युवा समाजले जनाएको छ। साथै, रोङ–४ को पर्यटन प्रवर्द्धनमा समेत प्रतियोगिताले योगदान पुर्याउने आयोजकको अपेक्षा छ।रोङ गाउँपालिका–४ का वडा सदस्यले प्रतियोगिताले स्थानीय खेलाडीको प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता सफल बनाउन स्थानीय समाजसेवी, संघसंस्था तथा देश–विदेशमा रहेका फुटबलप्रेमीबाट सहयोग रकम संकलन गरिने आयोजकले जनाएको छ।प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय, संघसंस्था तथा खेलप्रेमीलाई सहयोगका लागि आयोजकले आग्रहसमेत गरेको छ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू गेम अफ नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ।