झापा असोज २८।। झापाको सुरुङ्गामा जारी दोस्रो कन्काई मिनी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कन्काई स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा रेड हर्स फुटबल क्लब इलामलाई टाइब्रेकरमा पराजित गर्दै आयोजकले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।
कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा ५–४ गोल अन्तरको जित निकाल्दै कन्काईले फाइनल यात्रा तय गर्यो।
खेलमा सुरुवाती अग्रता आयोजकले लिएको थियो। कन्काईका आदित्य शाक्यले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, अग्रता जोगाउन नसक्दा आयोजकले पहिलो हाफमै बराबरी बेहोर्नुपर्यो। रेड हर्सका सुगम खजुमले गोल गर्दै टोलीलाई खेलमा फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक रणनीतिका साथ खेल प्रस्तुत गरे। अग्रता लिने उद्देश्यले दुवै पक्षले निरन्तर गोलका अवसर सिर्जना गरे पनि विपक्षीको रक्षापंक्ति तोड्न सकेनन्। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
टाइब्रेकरमा आयोजक कन्काई स्पोर्टिङ क्लबले संयमित प्रदर्शन गर्दै ५–४ को जित निकाल्यो। जितसँगै आयोजकले उपाधिका लागि शनिश्चरे एफसी अर्जुनधारासँगको भेट पक्का गरेको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका कन्काईका गोलरक्षक विवेक मगर म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथि तथा कार्यक्रम संयोजकलगायतले नगद पुरस्कार र ट्रफी प्रदान गरे।
प्रतियोगिताको फाइनल खेल असोज ३० गते शनिश्चरे एफसी अर्जुनधारा र आयोजक कन्काई स्पोर्टिङ क्लबबीच हुनेछ।
उपाधि विजेताले नगद दुई लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक इन्द्रजित बुढाले जानकारी दिए।
असोज २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका आठ उत्कृष्ट फुटबल टोलीको सहभागिता रहेको थियो। स्थानीय स्तरबाटै फुटबलको विकास गर्ने, प्रतिभावान् खेलाडी उत्पादन गर्ने तथा सुरुङ्गा क्षेत्रमा फुटबल गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले विजयादशमीको अवसर पारेर कन्काई स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो।