मेचीनगर झापा असोज २९।। झापाको मेचीनगरमा जारी प्रथम थोप्ले विरान फुटबल प्रतियोगिता मा जित निकाल्दै शनिश्चरे एफसी अर्जुनधारा सेमिफाइनलमा प्रवेश गरेको छ।
मेचीनगर नगरपालिका–९ स्थित थोप्ले विरान खेलमैदानमा आज सम्पन्न तेस्रो क्वार्टरफाइनलमा ढडुवा एफसी जलथललाई २–१ गोल अन्तरले पराजित गर्दै शनिश्चरेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा शनिश्चरेले सुरुवाती अग्रता बनाएको थियो। उसका लागि पेमा तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, शनिश्चरेको अग्रता लामो समय टिक्न सकेन। ढडुवा एफसीका कप्तान विनोद मेचेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनको प्रहार शनिश्चरेका गोलरक्षकलाई लाग्दै जाली चुमेको थियो।
पहिलो हाफ दुवै टिमले १–१ गोलको बराबरी खेले।दोस्रो हाफमा दुवै टोलीले जितका लागि आक्रामक खेल प्रस्तुत गर्दै गोलका केही उत्कृष्ट अवसर सिर्जना गरे। शनिश्चरेका प्रहारलाई ढडुवाका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै रोकेपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।
निर्धारित समयको अन्तिमतिर खेल बराबरीमै सकिने संकेत देखिएका बेला इन्जुरी समयमा शनिश्चरेले निर्णायक गोल गर्यो। सौरभ सुब्बाको कर्नर प्रहारमा पूजन श्रेष्ठले उत्कृष्ट हेडरमार्फत गोल गर्दै शनिश्चरेलाई २–१ को अग्रता दिलाए। पूजनको यही निर्णायक गोलसँगै शनिश्चरेले सेमिफाइनलको यात्रा तय गरेको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोलसमेत गरेका शनिश्चरेका पूजन श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए। उनलाई बुद्धशान्ति खेलकुद विकास समितिका सदस्य अर्जुन मेन्याङ्बोले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे।
प्रतियोगिताअन्तर्गत भोलि अन्तिम क्वार्टरफाइनल खेल हुनेछ। उक्त खेल काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र इलेभेन साइनिङ स्टार भद्रपुरबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई समेत ट्रफी र नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक सुरज श्रेष्ठले जानकारी दिए।
स्थानीय स्तरबाटै फुटबलको विकास गर्ने, विजयादशमीको शुभकामना आदानप्रदान गर्ने तथा थोप्ले विरान क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थोप्ले विरान फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो।