मेचीनगर असोज ३० ।। झापाको मेचीनगरमा जारी प्रथम थोप्ले विरान जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा जित निकाल्दै काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ। काकरभिट्टाको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ।
मेचीनगर–९ स्थित थोप्ले विरान खेलमैदानमा आज सम्पन्न अन्तिम क्वार्टरफाइनलमा इलाभेन साइनिङ स्टार भद्रपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै काकरभिट्टाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने भद्रपुरले लिएको थियो। खेलको नवौँ मिनेटमा रोशन मगरले उत्कृष्ट गोल गर्दै भद्रपुरलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको २४ औँ मिनेटमा सञ्जय हेमरनले गोल फर्काएपछि काकरभिट्टाले खेललाई १–१ को बराबरीमा ल्यायो त्यसपछि पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे। काकरभिट्टाले आफ्नो आक्रमणलाई थप मजबुद बनाउँदै अग्रता लियो। खेलमा २–१ ले पछि परेको भद्रपुरले बराबरी गोल फर्काउन निरन्तर प्रयास गरे पनि उसका प्रहारले जाली चुम्न सकेनन्। निर्धारित समयको अन्तिमतिर काकरभिट्टाका अमित बेसराले उत्कृष्ट गोल थपेपछि टोलीले ३–१ को जित सुनिश्चित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अमित बेसरा म्यान अफ द म्याच बनी उनलाई प्रमुख अतिथि तथा कार्यक्रम संयोजक लगायतले नगद तथा ट्रफी प्रदान गरे
भोलिबाट सेमिफाइनल चरणका खेल सुरु हुनेछन्। पहिलो सेमिफाइनलमा आदर्श युवा क्लब बुद्धशान्ति र शनिश्चरे एफसी अर्जुनधाराबीच प्रतिस्पर्धा हुनेछ।
आगामी कात्तिक २ गते हुने प्रतियोगिताको फाइनल विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी, विधागत उत्कृष्ट खेलाडीलाई समेत ट्रफी तथा नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक सुरज श्रेष्ठले जानकारी दिए।
विजयादशमीको अवसर पारेर थोप्ले विरान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा झापा र इलामका आठ टोलीको सहभागिता रहेको छ। स्थानीय स्तरबाटै फुटबलको विकास गर्ने, खेलकुदमार्फत आपसी सद्भाव र शुभकामना आदानप्रदान गर्ने तथा थोप्ले विरान क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।