एकतप्पा चैत्र २५ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज चौथो दिन भएको खेलमा विजय हुँदै दानाबारी एफसी र चमैता एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन।
पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो खेलमा चौबन्दी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिका १को टोली दानाबारी एफ सी अघिल्लो चरणमा प्रवेश गरेको छ।

उत्कृष्ट खेलाडीहरूका साथ मैदान उत्रिएको चौबन्दी एफसीले पाएको अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाट नै घर फर्किनु परेको छ।
त्यस्तै आज भएको दोस्रो खेलमा द नाइट क्लबलाई ट्राइबेकरमा पाँच चार गोल अन्तरले पराजित गर्दै चमैता एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोली गोल रहित बराबरी खेलेपछि खेल निर्णयका लागि ट्राइबेकरमा धकेलिएको हो। ट्राइबेकरमा चमैता एफसीका लागि महेश राई ,दर्शन सुनुवार, तीर्थ मगर ,कुसुम मगर र लाहुरे राईले गोल गरे उता पराजित द नाइट क्लबका लागि रोशन सिवा निश्चल लिम्बु उज्ज्वल लिम्बु र मनि राईले गोल गरे भने जर्सी नम्बर ४ का कप्तान समेत रहेका विवेक राईको प्रहारलाई चामैता एफसीका गोलकिपर दिपेन मगरले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका हुन्

योसँगै आजबाट प्रतियोगिताको पहिलो चरणका सम्पूर्ण खेलहरू समाप्त भएका छन्।प्रतियोगिता अन्तर्गत भोलिबाट दोस्रो चरणका खेल हुने आयोजक समितिका अध्यक्ष सुवास गुरुङले जानकारी दिएका छन्।
भोलि हुने दोस्रो चरणको पहिलो खेलमा मनोकामना एफसीले फुङ्गवा एफ सी को सामना गर्नेछ। भोलि नै हुने दोस्रो खेलमा ब्राइट स्टार पाँचथरले टिवाइसी मङ्गलबारेसँग प्रतिस्पर्धा गर्नेछ।
दश दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार एक सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार एक सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।
यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ

