इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्धशान्ति–१ भोटेटार सेमिफाइनलमा प्रवेश गरेका छन्।
रोङ गाउँपालिका–४ स्थित सिसौबोटे खेलमैदानमा बुधबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा याङ्ग्री एफसीले मानाबुङ एफसी रोङ–४ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि निर्धारित समयको अन्तिमतिर मात्रै खेलको निर्णायक गोल सम्भव भयो। सुदर्शन लिम्बुले लामो थ्रोमार्फत पेनाल्टी बक्समा पठाएको बललाई बालकुमार भुजेलले हेडमार्फत जाली चुमाउँदै याङ्रीलाई महत्त्वपूर्ण जित दिलाए।
एक गोलले पछि परेको मानाबुङ एफसीले खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो। निर्णायक गोल गरेका याङ्रीका बालकुमार भुजेल खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथिले ट्रफी प्रदान गरे।
यस्तै, बुधबार नै सम्पन्न दोस्रो क्वार्टरफाइनलमा न्यू स्टार एफसी बुद्धशान्ति–१ भोटेटारले डीएफसी अर्जुनधारालाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
खेलमा सुरुदेखि नै दबाब बनाएको न्यू स्टारले उत्कृष्ट प्रदर्शन गर्दै एकतर्फी जित निकालेको हो। न्यू स्टारको जितमा रोशन लिम्बुले दुई गोल गरे भने सचिन मगर र युवास तामाङले एक–एक गोल थपे। प्राप्त अवसरलाई सदुपयोग गर्न नसकेको डीएफसी अर्जुनधारा भने क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका न्यू स्टारका रोशन लिम्बु म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथि तथा आयोजकका प्रतिनिधिले ट्रफी प्रदान गरे।
प्रतियोगिताअन्तर्गत बिहीबार पनि दुई क्वार्टरफाइनल खेल हुनेछन्। पहिलो क्वाटर फाइनल खेल होक्से युवा क्लब र रोङ ५ बीच हुनेछ। त्यस्तै दोस्रो क्वार्टर फाइनल खेल रोङ ३ बदमटार
र रोङ एक खेलकुद विकास समितिबीच रहनेछ।
कालिटार युवा समाजको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा झापा र इलामका १६ टोलीको सहभागिता रहेको छ। स्थानीय स्तरबाटै फुटबलको विकास गर्ने, खेलाडीको प्रतिभा उजागर गर्ने तथा कालिटार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
‘खेलकुदले जोड्छ समाजलाई’ भन्ने मुख्य नाराका साथ सञ्चालित प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक १५ गते हुनेछ।
प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका खेलहरू गेम अफ नेपालको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण भइरहेका छन्।