देउमाई पौष ८ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा जित निकाल्दै वडा नम्बर ४ र वडा नम्बर १ अघिल्लो चरणमा प्रवेश गरेका छन्। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।
हिजो भएको क्वाटर फाइनल खेलबाट वडा नम्बर ३ र वडा नम्बर २ अन्तिम ४ मा प्रवेश गरिसकेका छन् । आजको खेलबाट वडा नम्बर ४ र वडा नम्बर १ ले अन्तिम चारमा स्थान सुरक्षित गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो।

देउमाई नगरपालिका चार स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ लाई सडन डेथमा पराजित गर्दै वडा नम्बर ४ ले अघिल्लो चरणको यात्रा तय गरेको छ। निर्धारित समय दुवै टिमबाट एक एक गोलको बराबरी भएसँगै निर्णयको लागि टाइ ब्रेकर कुर्नु परेको हो। टाइ ब्रेकरमा पनि तीन तिन गोलको बराबरी भएपछि खेल सडन डेथमा लम्बिएको हो। सडन डेथमा बाजी मार्दै वडा नम्बर ४ ले अन्तिम चारको यात्रा तय गरेको हो।
खेलमा सुरुवाती अग्रता भने वडा नम्बर ४ ले दिवस बास्तोला मेस्सीको गोलबाट लिएको थियो। तर त्यसको केही समयपछि नै वडा नम्बर ५ का किरण मगरले बराबरी गोल गरे त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन निर्धारित समय एक एक गोलको बराबरीमा सकिएसँगै खेल ट्राइबेकरमा धकिलिएको थियो।

उक्त खेलमा विजेता टिम देउमाई ४ का क्याप्टेन विशाल घलान म्यान अफ द म्याच बन्न सफल भएका छन्। उनलाई प्रमुख अतिथि र देउमाई नगरपालिका तरुण दलका अध्यक्ष बिमल काजी खम्बुले नगद ५०० र ट्रफी प्रदान गरे।
त्यस्तै आज भएको दोस्रो खेलमा वडा नम्बर ७लाई ६ -१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ अन्तिम ४ मा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको छ। वडा नम्बर ७लाई निकै नै दबाबमा राख्दै एकपछि अर्को आक्रमणमा गोल गर्दै वडा नं १ ले वडा नम्बर ७ माथि वर्षा गर्दै ६- १ को जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो। पराजित वडा नम्बर ७ भने प्रतियोगिताबाट बाहिरिएको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका नम्बर १ का तीर्थ मगर म्यान अफ द म्याच बने। उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेका छन् उनलाई तरुण दल देउमाई अध्यक्ष बिमलकाली खम्बु र जिल्ला फुटबल सङ्घ इलामका अध्यक्ष विक्रम श्रेष्ठले नगद र ट्रफी प्रदान गरे।
प्रतियोगिता अन्तर्गत भोलिबाट सेमिफाइनलका खेलहरू सुरु हुनेछन्। भोलि हुने पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वार्ड नम्बर २ र वडा नम्बर ३ बीच खेल हुनेछ।
हाम्रो गोल लागू औषध विरुद्धको बोल भन्ने मुख्य नाराका साथ स्थानीय स्तरमा रहेका खेलाडीहरूलाई उजागर गर्ने र खेलकुदको माध्यमबाट युवाहरूलाई सही मार्ग निर्देशनमा डोर्याउने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर कमिटीले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको फाइनल खेल पौष १२ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद ६० हजारसहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उपविजेता टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव विनम ढकालले जानकारी दिए।

