बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाउँदैछन्।
हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका अवसरमा देशभरका कलकारखाना, वर्कसप, निर्माणस्थल तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार र उपकरणको पूजा गर्ने परम्परा छ।
विशेषगरी फलाम, काठ तथा निर्माणसँग सम्बन्धित काम गर्ने कालिगढका लागि आजको दिन विशेष मानिन्छ। आफूले दैनिक प्रयोग गर्ने हतौडा, आरा, रेती, मेसिनलगायत औजारलाई सफा गरी पूजा गर्ने र काममा प्रयोग हुने उपकरणको सम्मान गर्ने चलन छ।
पछिल्लो समय विश्वकर्मा पूजा केवल परम्परागत औजारमा सीमित छैन। इञ्जिन, मोटर, मेसिन तथा विभिन्न सवारीसाधनमा समेत विश्वकर्माको पूजा गर्ने क्रम बढेको छ। कलकारखाना र वर्कसपलाई सजाएर श्रमिक तथा व्यवसायीले आपसी सद्भाव र उत्साहका साथ पर्व मनाउने गरेका छन्।
धार्मिक विश्वासअनुसार विश्वकर्मा वास्तु तथा निर्माण कलाका विशिष्ट ज्ञाता हुन्। द्वापर युगमा भगवान् कृष्णका लागि समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको विश्वासका आधारमा विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा सम्मान गर्ने परम्परा बसेको मानिन्छ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिइन्छ। वास्तुशास्त्रसम्बन्धी ‘विश्वकर्मा प्रकाश’ नामक ग्रन्थसमेत उहाँकै रचना भएको विश्वास गरिन्छ। यही धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा कालिगढले विश्वकर्माको पूजा गर्दै आफ्नो सीप, श्रम र औजारप्रति सम्मान व्यक्त गर्ने गरेका छन्।
विश्वकर्मा पूजालाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र नभई श्रम, सीप, सिर्जना र प्रविधिप्रतिको सम्मानका रूपमा पनि लिन थालिएको छ। आफूले प्रयोग गर्ने औजार तथा उपकरणको पूजा गर्दा तिनको संरक्षण हुने, लामो समयसम्म टिक्ने र काममा सफलता मिल्ने धार्मिक विश्वास छ।
यसै अवसरमा वास्तुशास्त्रका अध्येता तथा वास्तुविद्ले आजको दिनलाई वास्तु दिवसका रूपमा समेत मनाउने गरेका छन्। नेपालमा पछिल्लो समय वास्तु विद्याप्रति चासो बढ्दै गएको छ भने परम्परागत स्थापत्य ज्ञानमा आधारित घर तथा सहर निर्माणतर्फ पनि रुचि बढ्न थालेको बताइन्छ।
यसरी विश्वकर्मा पर्वले एकातर्फ धार्मिक आस्था र परम्परालाई निरन्तरता दिएको छ भने अर्कोतर्फ श्रम गर्ने हात, सीप र आधुनिक प्रविधिप्रति सम्मान गर्ने संस्कृतिलाई समेत जोड्दै आएको छ।