झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
जिल्ला खेलकुद विकास समिति झापाको सभाहल, चन्द्रगढीमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै झापामा भलिबल खेलको संस्थागत विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताको विस्तारलाई प्राथमिकतामा राख्ने आगामी कार्यदिशासमेत तय गरेको छ।
अधिवेशनबाट अध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षमा निर्मल बास्तोला र प्रमोद पाण्डे , सचिवमा खडानन्द खतिवडा तथा कोषाध्यक्षमा इन्द्र बुडाथोकी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा प्रवेश कुमार श्रेष्ठ, निकिता भट्टराई, हेमा थापा, मुकेश भट्टराई, कुलबहादुर कार्की, डिकबहादुर कट्वाल फडीन्द्र सिग्देल, काजी गुरुङ र दुर्गाप्रसाद पाठक (राजु) चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले नेपालको राष्ट्रिय खेल भलिबललाई झापामा थप व्यवस्थित, योजनाबद्ध र प्रभावकारी रूपमा विकास गर्दै जिल्लालाई भलिबलको हबका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ खेलाडीको पहिचान, उत्पादन र विकाससँगै स्थानीय तहदेखि जिल्लास्तरसम्म भलिबलका गतिविधिलाई विस्तार गर्ने तथा खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र प्रोत्साहन उपलब्ध गराउने विषयलाई समितिले प्राथमिकतामा राखेको छ।
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी नेपाल भलिबल संघका उपाध्यक्ष तथा केन्द्रीय प्रतिनिधि मदन खड्का, कोशी प्रदेश भलिबल संघका महासचिव तथा कोशी प्रदेश प्रतिनिधि लेखनाथ पराजुली र नेपाल भलिबल संघका पूर्व राष्ट्रिय उपाध्यक्ष गजेन्द्र ताम्ली लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अतिथिहरूले झापामा भलिबलको सम्भावना उच्च रहेको उल्लेख गर्दै नयाँ नेतृत्वले खेलको दीर्घकालीन विकासका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
विशेषगरी जिल्लाका प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूलाई उचित प्रशिक्षण र अवसर प्रदान गर्ने, नियमित प्रतियोगिताको वातावरण निर्माण गर्ने तथा स्थानीय तह र क्लबहरूसँग समन्वय गरी भलिबलको आधार बलियो बनाउने विषयमा अतिथिहरूले जोड दिएका थिए।
कार्यक्रममा झापामा भलिबलसँग आबद्ध खेलाडी, प्रशिक्षक, खेलकर्मी, पदाधिकारी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्वबाट जिल्लाको भलिबल विकासले थप गति लिने अपेक्षा व्यक्त गरेका थिए।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमुख अतिथि, केन्द्रीय तथा प्रदेश प्रतिनिधि र अन्य अतिथिहरूले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।
कार्यक्रमको सञ्चालन झापा जिल्ला भलिबल संघका निवर्तमान सचिव तथा नवनिर्वाचित सचिव खडानन्द खतिवडाले गरेका थिए।
नयाँ नेतृत्व चयनसँगै झापा जिल्ला भलिबल संघले जिल्लामा भलिबलको संस्थागत विकास, खेलाडी उत्पादन, प्रशिक्षणको विस्तार तथा नियमित प्रतियोगिताको आयोजनालाई प्राथमिकतामा राख्ने भएको छ। नयाँ कार्यसमितिको कार्यकालसँगै झापाको भलिबललाई थप व्यवस्थित बनाउँदै राष्ट्रियस्तरमा जिल्लाको पहिचान बलियो बनाउने चुनौती र अवसर दुवै नयाँ नेतृत्वसामु रहेको र यसलाई आफ्नो समितिले पूरा गर्ने नवनिर्वाचित समितिका अध्यक्ष खड्काले प्रतिबद्धता व्यक्त गरेका छन्।