झापाको मेचीनगरमा जारी प्रथम थोप्ले विरान जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा जित निकाल्दै शनिश्चरे फुटबल क्लब अर्जुनधारा फाइनलमा प्रवेश गरेको छ।
मेचीनगर–९ स्थित थोप्ले विरान खेलमैदानमा आज सम्पन्न पहिलो सेमिफाइनलमा आदर्श युवा क्लब बुद्धशान्ति झापालाई ट्राइबेकरमा पराजित गर्दै शनिश्चरे एफसी उपाधिनजिक पुगेको हो।
निर्धारित समय र थप गरिएको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि ट्राइबेकरमा बाजी मार्दै शनिश्चरे एफसीले फाइनल यात्रा तय गर्यो। पराजयसँगै आदर्श युवा क्लब बुद्धशान्तिको प्रतियोगितामा यात्रा समाप्त भएको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका शनिश्चरे एफसीका देवेन्द्र तामाङ प्लेयर अफ द म्याच घोषित भए। उनले नगद १ हजार ५०० रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ। फाइनल प्रवेशका लागि आदर्श मैदान बिर्तामोड झापा र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ।
झापा र इलामका गरी आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २ गते आयोजना हुनेछ। प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
विजयादशमी २०८३ को शुभकामना आदानप्रदानसँगै स्थानीयस्तरमा फुटबल खेलको विकास तथा थोप्ले विरानको पर्यटकीय क्षेत्रलाई खेलकुदका माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले थोप्ले विरान फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो।