झापा । बुधबारे जेसीज प्रथम भोटेटार भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा चारपाने युनाइटेड भेट्रान्सले विजयी सुरुवात गरेको छ।
बुद्धशान्ति गाउँपालिका–१ स्थित भोटेटार खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा चारपाने युनाइटेडले मोरङको सतिसाले भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलमा चारपानेको जितका लागि सुदीप श्रेष्ठ र प्रवीण विकले एक–एक गोल गरे। यता सतिसाले भेट्रान्सका जगेश चौधरीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलमा प्राप्त अवसरलाई सदुपयोग गर्दै चारपानेले पहिलो हाफमै अग्रता बनाएको थियो। दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको सतिसालेले आक्रामक खेल प्रस्तुत गर्दै गोलका केही राम्रा अवसर सिर्जना गरे पनि चारपानेका गोलरक्षक किरण जबेगुले उत्कृष्ट बचाउ गर्दै विपक्षीको प्रयास विफल तुल्याए। अन्ततः २–१ को जित निकाल्दै चारपानेले प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भयो भने सतिसाले भेट्रान्स पहिलो खेलबाटै बाहिरिएको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गरेका चारपाने युनाइटेडका सुदीप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। उनले ट्रफीसहित नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको उद्घाटन न्यू स्टार युथ क्लबका अध्यक्ष एकराज भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–३ का वडाध्यक्ष तथा खेलकुद विकास समितिका संयोजक परशुराम चेम्जोङ प्रमुख अतिथि र बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्ले विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चेम्जोङले प्रतियोगिताले स्थानीय खेलकुदको विकास, भेट्रान्स खेलाडीको सम्मान तथा खेलाडीबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
बुद्धशान्ति गाउँपालिकाको मुख्य प्रायोजन तथा बुद्धशान्ति जेसीजको प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको हो। नेपाल र भारतका गरी आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २१ गते हुनेछ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै, विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत भोलि हुने खेलमा काँकरभिट्टा भेट्रान्स र कनकाई भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ।
उद्घाटन समारोहको सञ्चालन न्यू स्टार युथ क्लबका सचिव गजुहाङ यङहाङले गरेका थिए।