साझा अक्षर

अनुभूतिका पानामा प्युठान 

–दीपेन्द्रसिंह थापा

उत्सुकताको आभास मात्र पनि आफैँमा रमाइलो कुरा । नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र ? छुट्टै आकर्षणले रङ्गिइदिन्छ मन । यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई पनि । साहित्य परिषद् प्युठानको निमन्त्रणा यस कारण विशेष थियो मेरा लागि । हत्तपत्त जाने निर्णय गरिहालेँ । 

 बडादसैँको पूर्व सन्ध्या । काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रि बसमा खचाखच थिए यात्रु । पर्वको रमझमले तानेको मन । कसको अनुहारमा झल्किएको थिएन र घर पुग्ने हतारो ? उनीहरूका संवाद र सुसाइ नै अर्कै । सबै सबै देखिन्थे आफ्नै आफ्नै आत्तुरीमा, आफ्नै आफ्नै उमङ्गमा । उज्याला अनुहारहरूले भरिभराउ यही बसमा चढेर म प्युठानतर्फ हुइँकिएँ, असोज ९ गते साँझ । मेरो सन्दर्भमा यो साहित्यिक कार्यक्रम त केबल एउटा बहाना । मुख्य ध्येय घुम्नु नै थियो । कारण भनिसकेँ, मेरो यो पहिलो प्युठान यात्रा । 

 त्यही कार्यक्रममा सहभागी हुन हिँडेका थिए, मजस्तै अन्य केही निम्तालुहरू पनि । यस्ता साथीहरू कोही काठमाडौँबाट र कोही मुग्लिङबाट जोडिएका थिए यात्रामा । मेलापात, यात्रा, उत्सव, जहाँ पनि परिचित पात्रहरू भेटिनु आफैँमा सुखद कुरा । यस्तोमा थपिँदै जान्छ अझै असली मज्जाको रङ । समीर सिंह, भावेश भुमरी र आविष्कार कला । यी तिनै जना प्युठानी प्रतिभाको साथ पाउनु एउटा अर्को संयोग । उनीहरूले यात्रामा राम्रो सहजीकरण गरे, आयोजकका तर्फबाट ।

 लामो दुरीको यात्रा । हुइँकिरहन्छ बस एकतमासले । एकरसताको कैदी भइरहँदा कसलाई पो पट्यार नलाग्ला र ? समय कटाउने बहाना नै सही, बेलाबेलामा हामी मज्जैले गफिन्छौँ । ठट्टा र हाँसो त झन् पट्यार हटाउने ओखती । जे होस्, रुचि मिल्ने साथीहरू सँगै हुँदा लामो यात्रा पनि पट्यारलाग्दो नहुने रहेछ ।

 दाङको भालुबाङ, त्यसको केही पर ददेरी । हो, त्यहीँबाट सुरु हुन्छ प्युठानी परिदृश्य । रातभर निरन्तर यात्रा । बिहानतिर मात्र हामीले प्युठानको भूमिलाई स्पर्श गर्न सकेका थियौँ । हाम्रो गन्तव्य उन्मुख भूगोलको एकापट्टि मोहडा । त्यसको पनि अलिकति साक्षात्कार । तर अनायासै मनमा उज्यालोको आभास छिरिसकेको थियो । बिहानी घामका कलिला किरणहरूसँगै प्युठानी परिवेशमा रम्न थाले आँखाहरू । रातभरिको यात्राको थकान पनि सायद गायब हुने कोसिसमा थियो । प्रकृतिको कञ्चन सुगन्ध नै त्यस्तै । बाङ्गे साल भन्ने ठाउँ कटेपछि माडीको तिरैतिर बसको यात्रा अगाडि बढ्दै गयो । प्राकृतिक दृश्यहरूमा नजरलाई एकाकार गराउँदै गन्तव्यतर्फ गतिशील भइरह्यो यात्रा ।

 स्वर्गद्वारी, प्रसिद्ध एक पर्यटकीय गन्तव्य । यसको फेदीतिर रहेछ भिङ्ग्री बजार । आउजाउ गर्ने यात्रु र स्थानीयलाई खाना खाजा खुवाउन तल्लीन सानो सानो बजार । रोल्पा जाने बसबाट बिहान १० बजे यहीँ ओर्लियौँ हामी । प्युठान साहित्य परिषद्का अध्यक्ष नवराज आचार्य हामीलाई पर्खिँदै रहेछन् । उनले खानपिन र केही समय आराम गर्ने प्रबन्ध मिलाए, त्यहीँको एक होटेलमा । स्वस्थ, स्वादिष्ट खाना अनि स्वच्छ, शीतल परिवेशको सुस्ताइ । तन र मन दुबैमा महसुस भयो, भरपुर ताजापन । त्यति भएपछि घुमफिरमा किन ढिलाइ ? हामी लाग्यौँ सारीतर्फ ।

 स्थानीय क्षेत्रमा गुड्ने बसबाट हामी गयौँ, अलि अगाडिसम्म । नजिकै देखियो, आफ्नै निरन्तरताको लयमा मग्न मस्त माडी नदी । उसको सङ्गीतमा अलिअलि ज्यान हल्लियो झोलुङ्गे पुलबाट पारि तर्दा । एकै छिन हिँडेपछि हामी एउटा रमाइलो ठाउँमा पुग्यौँ । त्यो ठाउँको नाम सारी । आहा, कस्तो गज्जबको भू बनोट दृश्य ! कलात्मक आकृतिका माटोका ढिस्काहरू रहेछन् त्यहाँ, अनगिन्ती । मूर्त, अमूर्त अनेक बुट्टा र कलाले सजिएका । कुनै कुनै शिव लिङ्गजस्ता, कुनै कुनै चाहिँ घोप्टो पारी राखिएका ठुला ठुला थुन्से, डोका र सोलीजस्ता । टाढाबाट झट्ट हेर्दा मन्दिरै मन्दिरका लहरजस्ता देखिने । रातो माटोका ढिस्काढिस्किीभित्र धेरै ओटा खोच र सुरुङहरू पनि बनेका रहेछन् । एरात्तै, प्रकृतिका कलाकारिता पनि कस्ता कस्ता ! यहाँका दृश्यले रोचक अनुभूति गराए । 

 पेसाले इन्जिनियर पनि हुन्, युवा स्रष्टा आविष्कार कला । उनीसँगै थिएँ म । कुराकानीका क्रममा उनीसँग पनि सारीको विषयमा सोधेँ मैले । ‘माटोलाई पानीले क्षयीकरण गर्दा अनौठो किसिमले बनेका भू आकृतिहरू हुन् यी’, उनले भने, ‘पछिल्लो समय यसलाई हेर्न आउने पर्यटकहरू बढ्न थालेका छन् । यस्तो प्राकृतिक बनोटकै कारण यो ठाउँ प्युठानको एउटा पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।’ 

 मनको एउटा छेउमा प्रश्न उब्जिन्छ, यी माटोका आकृतिहरूलाई वर्षौंवर्षपछि पनि यस्तै रूपमा देख्न पाइएला कि नपाइएला ? समय समयमा हुने पानीको क्षयीकरणको असर त हाम्रो अनुमानभन्दा टाढाका कुरा । के थाहा, भविष्यमा यी आकृति अझै फरक रूपमा पो देखिएलान् कि ? अथवा, यी आकृति नै हराएर यहाँको हालको परिचय नै मेटिन पो सक्छ कि ? रहस्यकै गर्भमा छ, यी भू बनोटका भविष्य । हुन त परिवर्तनशीलता नै समयको विशेषता । कसैले चाहेर वा नचाहेर रोकिने भए पो । 

 सारीको सौन्दर्यमा भुल्दा दिन ढल्किन लागेको पत्तो पाइएन । आकाशमा एक जुवा घाम बाँकी थियो होला, हामी त्यहाँबाट फर्किँदा । यो कलामय भू बनोट दृश्य अवलोकनपछि स्वर्गद्वारीतिर लागियो । मनोरम दृश्यमा रम्ने र त्यहीँको धर्मशालामा एक रात बिताउने व्यवस्था मिलाएको रहेछ आयोजक संस्थाले । प्युठानका केही साहित्यकार र साहित्यानुरागीहरू पनि भेटिए भिङ्ग्रीमा । त्यहाँबाट १४ किलोमिटर उकालो बाटो यात्रा गर्नुपर्ने स्वर्गद्वारी पुग्न । त्यसका लागि हामी बसमा अगाडि बढ्यौं । बसको यात्रा त्यति सहज रहेनछ । केही पर पुगेपछि जिपबाट यात्रा गर्नुपर्ने भयो । रक्तिम परिवारका दुई जना कलाकारहरू पनि थिए म चढेको जिपमा । उहाँहरूले गरिब, मजदुरका जीवन भोगाइ र उन्मुक्तिका जोसिला गीत गाउँदा चालकले पनि जोसिएर गाडी बत्ताएको भान हुँदै थियो । मनमा लाग्यो, यस्ता गीत गाइएको र त्यस्तै विचारको जगमा राजनीति गरिएको पनि दशकौँ बितिसक्यो तर गरिखाने जनताका हालत चाहिँ आज पनि किन ज्युँका त्युँ ?

 गीतको रन्कोमा रम्दै उकाली र घुम्तीहरू पार भए । झमक्क अँध्यारो हुँदा स्वर्गद्वारीको डाँडामा पुगियो । सिँढीहरूबाट केही बेर उकालो चढ्न अझै बाँकी नै थियो । त्यहाँको दृश्यमा रमाउँदै २ हजार १ सय २१ मिटर उचाइमा रहेको स्वर्गद्वारी आश्रममा पुगियो । त्यहाँ पुगेपछि झनै चङ्गा भयो मन । 

 सात्त्विक तर स्वादिष्ट । यही नै स्वर्गद्वारी आश्रमको भोजनको विशेषता । आनन्दले पेट पूजा गरियो, आश्रममै । त्यहाँका धर्मशालामा सुत्ने व्यवस्था पनि रहेछ । सामूहिक सुताइका लागि त्यहीँको एउटा ठुलो कोठा रोज्यौँ । निद्रा नपरुन्जेल गफ त चल्ने नै भयो । प्युठानका पूर्व शिक्षक देवेन्द्रकुमार रिजाल पनि हामीसँगै थिए, त्यस रात । गफ गर्न सिपालु मान्छे । कुराको प्रसङ्ग जोड्दै झुसिल्किराबाट पुतली भएपछि धरातल बिर्सिएका केही राजनीतिकर्मीका बेथितिमाथि दोहोलो काढे ।  जाने भ्याएसम्म हास्यव्यङ्ग्यका बिम्ब पस्किन बाँकी राखेनन् उनले । नहाँस्ने को पो थिए र त्यहाँ ? सबै पेट मिची मिची हाँसे, उनका कुराले । गुञ्जायमान बनिरह्यो कोठा निकै बेर । गफमा भुल्दाभुल्दै राती कति बेला निदाइयो, पत्तै पाइएन । 

 बिहानै उठेर चारैतिरका दृश्यलाई अवलोकन गर्न व्यस्त भएँ म । आँखै अघिल्तिर टल्किरहने सेता हिमाल । डाँडाकाँडा र हरिया जङ्गल सबै छ्याङ्ग देखिने । मनमा लाग्यो, प्रकृतिको यही सौन्दर्यबाट प्रभावित भएर नै महाप्रभु नामका एक तपस्वी यहाँ आएर बसेका थिए होलान् । खासमा उनले तपस्या स्थलका रूपमा रोजेपछि थप परिचित बनेको हो, यो ठाउँ । 

 स्वर्गद्वारी डाँडाबाट केही पर एउटा गुफा रहेछ । बिहान हामी डुल्दै पुग्यौँ त्यहाँ पनि । हरियालीयुक्त परिवेश । चाँप, लालीगुराँस, बाँझ आदिका रूखहरू जताततै । रूखका बोटहरू छिचोलेर नजर डुलाइरहेँ केही बेर । जताततै रमणीय दृश्य । यस्ता डाँडाका टुप्पामा पुग्दा कसको पो मन नरमाउला र ?

 प्रभातकालीन घुमफिर र चियापानपछि बिहान १० बजे स्वर्गद्वारीकै सभा हलमा प्युठान साहित्य उत्सवको उद्घाटन भयो । गीतसङ्गीत, कला, साहित्यका विविध रङ र रसहरूको इन्द्रेणी । यसैले त उत्सवमय बन्ने हो, कार्यक्रम । हेमराज आश्रम र लक्ष्मी रिजालका गीतले मन्त्रमुग्ध बनायो । निकै मिहिन भावमा प्रस्तुत भएका थिए गीति बिम्ब । काठमाडौँ, दाङ, रोल्पाबाट आएका र स्थानीय केही साहित्यकारहरूबाट रचना वाचन भए । स्वर्गद्वारी आश्रमका बटुकहरूले पनि सुनाए आफ्ना कविताका लय । नेपाली साहित्यका गुरु द्वय गोपीन्द्र पौडेल र गितु गिरी, साहित्यकार प्रमोद प्रधानलगायतले पनि साहित्यका विविध पक्षबारे बोले । एकदम सुन्दर कुरा । लाग्छ, सबै सबैतिर यसै गरी मौलाउँदै जानुपर्छ प्राज्ञिक उन्नयनका आयाम । 

 कार्यक्रम तालिकामा भोलिपल्टको कार्यक्रम थियो, ओखरकोटमा । त्यसका लागि स्वर्गद्वारीको कार्यक्रम सकेर हामी बास बस्न मच्छीतिर लाग्यौँ । हरिया जङ्गल र पहाड । खोला अनि बेसीतिरका उर्वर फाँट । अझ झिमरुक खोलाको त प्युठानमा आफ्नै जीवन्त चिनारी नै छ । खेतका गराहरूमा पहेँलपुर भएर झुलिरहेका धानका बाला त्यसको एउटा आकर्षक प्रमाण । यस्तै यस्तै दृश्यहरूमा आँखाहरू नाचिरहे यात्रामा । 

 कहिलेकाहीँ मलाई आफ्नै जिन्दगीको यात्राजस्तै लाग्छ, पहाडी बाटोको यात्रा । कतै उकालो, कतै ओरालो । कतै अप्ठ्यारा भू बनोट, कतै सजिला सतह । भेटिइरहने साना ठुला घुम्तीहरू त्यस्तै । 

 पक्की र कच्ची दुबै खाले रोडका यात्राको अनुभव गराउँदै बसले हामीलाई मच्छी पुर्यायो , झम्के साँझ हुनै लाग्दा ।

 मच्छीमा हामी फरक फरक घरमा बाँडिनुपर्ने भयो, बास बस्न । संयोगले म एक भद्र मानिसको घरमा परेछु । उनको नाम राजेन्द्रविक्रम ंिसंह । कुराकानीका क्रममा थाहा भयो, नेता मोहनविक्रम सिंहका आठ दाजुभाइमध्ये उनी सातौँ नम्बरका भाइ । बाफरे, आठ जना दाजुभाइ ! जेठा, माइला, साइँला, काइँला, ठाइँला, अन्तरे, जन्तरे र कान्छा । यसमध्ये उनी जन्तरे । अझ दिदीबहिनी कति होलान् ? यति धेरै सन्तान जन्माई हुर्काइ गर्नु अबका मान्छेका लागि सम्भव पनि नहोला कि जस्तो लाग्छ मलाई । यस्ता आमाबुबाका कथा व्यथा सुन्दा अनौठो लाग्ने समय छ अहिले । 

 पारिवारिक आत्मीयताको आभास पाइयो, मच्छीको सिंह निवासमा । केही बेर व्यक्तिगत जीवनका उकाली ओरालीसम्मै पुगेर कुराकानी गरियो । गजबसँग भावनाको नाता जोडियो बास बस्न पुगेको यो घरमा । छोटै भए पनि बिर्सन नसकिने कुरा भए, यी जन्तरे काकासँग । 

 प्युठान पुगेको तेस्रो दिन । निलो आकाशमुनि छरिँदै थिए घामका कलिला किरण । बिहान सात बजे बसमा चढेर मच्छीबाट ढाँड, आहाल खोला हुँदै हामी ओखरकोटको उकालो चढ्यौँ । सात किलो मिटरको उकालो र घुम्ती बाटो । डाँडाकाँडा, हरियाली र गाउँ बस्ती नियाल्दै पुगियो ओखरकोटको प्रवेशद्वारमा । धेरै ओटा सिँढीहरू पार गरेपछि टुप्पोमा केही समतल भाग भेटियो । त्यहीँ रहेछ, एउटा निकै पुरानो इतिहासको साक्षी ओखरकोट ।

रमाइला दृश्यावलोकनसँगै केही बेर साङ्गीतिक र साहित्यिक कार्यक्रम भयो त्यहाँ । त्यो अग्लो र सुन्दर थुम्को आफैँ एउटा भव्य काव्यजस्तो लाग्यो मलाई । गायकहरूले गाए जागरणका गीत । कविहरूले सुसेले कविताका बिम्ब । यति भएपछि सायद सम्बोधन पुग्यो कि, डाँडाको त्यो जिउँदो जाग्दो उचाइलाई ? 

 भुरेटाकुरे राजाहरूका समयका कुरा । यो कोटमा राजाको दरबार थियो रे । पछि परस घर्ती क्षेत्रीले हमला गरी यो राज्य कब्जा गरेको भन्ने सुन्न पाइयो, सिद्धिमान जिसीबाट । उनी यसै क्षेत्रका एक ज्येष्ठ नागरिक । त्यही समयको भनेर कोटमा सुरक्षित राखिएका केही हतियार अझै देख्न सकिन्छ । 

 त्यो भव्य थुम्कोबाट फर्किने क्रममा ढाँडमा रोकियौँ हामी, केही बेर । ढाँड अर्थात् ढुङ्गैढुङ्गाले भरिएको ठाउँ । अनेक आकार र आकृतिका ढुङ्गाहरू । ‘रक गार्डेन’ भन्ने गरिन्छ अचेल यस्ता ठाउँलाई । प्रकृतिका सिर्जना न हुन् । कहिलेकाहीँ यस्ता फरक पृष्ठ पढेर पनि त रमाउन सकिन्छ । 

 ओखरकोटबाट ओर्लियौँ फेरि मच्छीमा नै । ढिलासुस्ती गरिएन त्यहाँ, खाना खाउन्जेल मात्र रोकियौँ । त्यसै दिन पुग्नु थियो खलङ्गा । मच्छीबाट बिदा भई त्यतै लागियो । लगभग डेढ घण्टाको बसको यात्रा । हामी प्युठानको सदरमुकाम खलङ्गा पुग्दा दिउँसोको ४ बजिसकेको थियो । जिल्ला समन्वय समिति, प्युठानका प्रमुख धर्मबहादुर जिसीलगायत केही खलङ्गावासीबाट त्यहाँ पुगेका हामी सबैलाई स्वागत गरियो । 

 पन्चै बाजा र लाखे नाच । रमाइला गीत र नृत्य । खलङ्गाको कार्यक्रममा स्थानीयले सक्दो सांस्कृतिक रङ र रौनक देखाए । पाहुना बनेर पुगेकाहरूको प्रस्तुति त छँदै थियो । 

 दिन ढल्किसकेको थियो, कार्यक्रम सकिँदा । कहाँ जान भ्याइनु अन्त ? त्यस रात खलङ्गाकै होटेलमा बिताइयो । 

 खलङ्गा पुग्नु र मल्ल रानी नघुमी फर्किनु ! के यो सुहाउने कुरा हो र ? अहँ, होइन । भोलिपल्ट बिहान सबेरै उठियो । नउठेकालाई उठाइयो । सुर कसिसकेपछि केको बियाँलो ? फटाफट अघि सारिहाल्यौँ पाइलाहरू ।

 जनश्रुतिमा बाँचेकी पात्र, मल्ल रानी । प्राचीन समयमा उनकै दरबार रहेको रमणीय थुम्को छ, खलङ्गा माथितिर । उकालो लाग्दै गयौँ हामी । अहिले यो ठाउँ मल्ल रानी डाँडाका नामले चिनिन्छ । त्यही डाँडाको टुप्पोलाई ताकेर हामी हिँड्दै गयौँ । 

 खलङ्गाबाट करिब ४० मिनेटको हिँडाइपछि पुगियो, थुम्काथुम्कीकी रानीजस्तै मल्ल रानीमा । नामजस्तै सुन्दर ठाम । प्युठानको एउटा पर्यटकीय गन्तव्यको चिनारी बनाएको छ यो थुम्कोले पनि । टुप्पातिर केही समतल भाग पनि रहेछन्, साना साना घाँसे मैदानजस्ता । यहाँबाट धेरै डाँडाकाँडा र बेसीका भूभाग मज्जाले देखिँदा रहेछन् । स्वच्छ, शान्त र शीतल परिवेश । सिर्र सिर्र बहने हावा । बिहानै यहाँ डुल्दा र दृश्यावलोकन गर्दा मनमा गहिरो आनन्द महसुस भयो । 

 मल्ल रानी नजिकैको एउटा गाउँ मरन्ठाना । साहित्यकार भावेश भुमरीको गाउँ । हामीलाई प्युठान घुम्न मेलोमेसो मिलाउने आयोजकमध्येकै एक सदस्य पनि हुन्, उनी । आफूm जन्मेहुर्केको गाउँ कसलाई पो प्यारो नलाग्ला र ? घर गाउँ देखाउन र बिहानको खाजा आफ्नै घरमा खुवाउन चाहे उनले । त्यसका लागि उनी हामीभन्दा पहिल्यै पुगेर तयारी गरिसकेका रहेछन् । भोक लागेको बेला खिर नै खाजा । यो त गज्जब कुरा भएन र ? थपी थपी खाइयो खिर र तरकारी । 

 पहाडको माथितिर भए पनि समतल परेका केही भूभाग । उर्वर र हराभरा उस्तै । मान्छेका मनलाई उज्यालो बनाउन अघिल्तिर मुस्कुराइबस्ने हिमाल । रमाइलो लाग्यो मरन्ठनाको परिवेश । 

 केही समय भुमरीको घरको पारिवारिक आत्मीयतामा रमाएपछि हामी झ¥यौँ खलङ्गा । बाग्दुलामा आयोजित हुँदै थियो अन्तिम दिनको कार्यक्रम । त्यहाँ सहभागिता जनाएर त्यसै दिन काठमाडौँ फर्किने योजना हाम्रो । विलम्ब गर्ने कुरै भएन । सिधै लागियो कार्यक्रम स्थलतिर । 

 प्युठानको एक व्यापारिक केन्द्र बाग्दुला । व्यापारिक चहलपहलमै व्यस्त देखिनु उसको विशेषता । बजार नजिकैको एक विद्यालयको प्राङ्गण भने फरक रौनकमा रम्दै थियो, त्यस दिन । नितान्त कवितामय, सङ्गीतमय र नृत्यमय । उल्लास र आकर्षण नै अर्कै । कला साहित्यका पारखीहरू जम्मा भएका थिए, ठाउँ ठाउँबाट । त्यहाँ जिल्ला स्तरीय कविता प्रतियोगिता पनि हुँदै थियो । प्युठानी प्रतिभाहरू कस्सिएका थिए, कविताका रङ र रस पस्कन । दिनैभर बाग्दुला मुस्कुराइरह्यो सिर्जनाका बान्कीहरूमा ।

 कार्यक्रम सकिने बित्तिकै एक निम्तालुको नाताले विनयी भावमा मैले हात जोडेर भनेँ, ‘यस पटकलाई बिदा पाऊँ प्युठान !’ 

 अनुभूतिका पानामा प्युठानको रमाइलो बोकेर म काठमाडौँ फर्किएँ, रात्रि बसमा सर्रसर्र । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...