Skip to main content

साझा अक्षर

पूर्वी नेपालमा महिला फुटबलको नयाँ इतिहास : झापा र इलाममा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

 

झापा  ।। पूर्वी नेपाल फेरि एकपटक फुटबलको उत्साहले तात्न लागेको छ।

नयाँ वर्ष २०७३ सालको अवसर पारेर झापा र इलाममा दुई ठूला अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएका छन्। यी प्रतियोगिताले महिला फुटबलको विकासमा नयाँ इतिहास कोर्ने अपेक्षा गरिएको छ।
झापाको चन्द्रगढी युवा क्लबको आयोजनामा वैशाख ५ गतेदेखि वैशाख १४ गतेसम्म मेची रङ्गशालामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आयोजकका अनुसार यो पुरस्कार राशि नेपालमा महिला फुटबलतर्फ हालसम्मकै सबैभन्दा ठूलो हुनसक्ने दाबी गरिएको छ। ठूलो पुरस्कार राशिका कारण पनि प्रतियोगिता अझ आकर्षक बन्ने विश्वास गरिएको छ।

त्यसैगरी, इलाममा  अर्को प्रतिष्ठित प्रतियोगिता आयोजना हुने भएको छ। ओएसिस फुटबल क्लब इलामको आयोजनामा वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म तेस्रो  संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप सञ्चालन हुने तयारी भइरहेको छ। पहिलो र दोस्रो संस्करण सफलताका साथ सम्पन्न गरेको ओएसिस क्लबले तेस्रो संस्करणको तयारी तीव्र पारेको छ। लगातार यी दुई ठूला प्रतियोगिता आयोजना हुन लागेसँगै पूर्वी नेपालमा महिला फुटबलको माहोल थप उत्साहजनक बन्ने अपेक्षा गरिएको छ।

पूर्वी नेपाललाई लामो समयदेखि नेपाली फुटबलको उर्वर भूमि मानिन्छ। यहाँबाट धेरै प्रतिभाशाली खेलाडीहरू उत्पादन भएका छन्, जसले देशका विभिन्न क्लबहरूमा आबद्ध भएर आफ्नो क्षमता देखाइरहेका छन्। विशेषगरी पुरुष फुटबलमा पूर्वी नेपालको योगदान उल्लेखनीय रहँदै आएको भए पनि पछिल्लो समय महिला फुटबल प्रतियोगिताहरू पनि बाक्लै आयोजना हुन थालेका छन्।
२०८२ सालमा झापाको दुधेमा १० लाख रुपैयाँ पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको छ। उक्त प्रतियोगितामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगिता सफल भएपछि पूर्वी नेपालमा महिला गोल्डकप आयोजना गर्ने लहर नै चलेको देखिन्छ। यसले महिला फुटबलप्रति दर्शक र आयोजक दुवैको चासो बढ्दै गएको संकेत पनि दिएको छ।

पछिल्लो समय नेपालमा खेलाडीहरू विशेषगरी पुरुष फुटबल खेलाडीहरू  विदेश पलायन हुने क्रम बढिरहेको छ। आर्थिक अस्थिरता, पर्याप्त प्रतियोगिताको अभाव र पेशागत सुरक्षा नहुँदा धेरै प्रतिभाशाली खेलाडीहरू विदेशिन बाध्य हुने अवस्था देखिएको छ। यस्तो अवस्थामा देशभित्रै ठूलो पुरस्कार राशि र राम्रो व्यवस्थापनका साथ प्रतियोगिता आयोजना हुनु खेलाडीहरूका लागि उत्साहजनक पक्ष हो। यस्ता प्रतियोगिताले खेलाडीहरूलाई आर्थिक रूपमा पनि केही हदसम्म सबल बनाउने र उनीहरूलाई आफ्नो खेलकुद करियर देशमै अगाडि बढाउन प्रेरणा दिने विश्वास गरिएको छ।
फुटबल केवल पुरुषहरूको मात्र खेल होइन भन्ने सन्देश पनि अहिले बलियो रूपमा स्थापित हुँदै गएको छ। गाउँ–गाउँबाट महिला खेलाडीहरू उदाउँदै आएका छन्। त्यसैले पुरुष फुटबल जस्तै महिला फुटबललाई पनि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म व्यवस्थित रूपमा अघि बढाउन आवश्यक देखिन्छ। हरेक जिल्ला र क्षेत्रमा महिला फुटबल प्रतियोगिता आयोजना गर्ने परम्परा विकास गर्न सके नेपाली महिला फुटबल अझ सशक्त बन्न सक्छ।
रोचक कुरा के छ भने अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतियोगिताहरूमा नेपाली महिला टोलीले पुरुष टोलीको तुलनामा अझ राम्रो प्रदर्शन गर्दै आएको छ। दक्षिण एशियाली स्तरका प्रतियोगिताहरूमा नेपाली महिला टोलीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा उकासेको उदाहरणहरू पनि प्रशस्तै छन्।
नेपालका चर्चित महिला फुटबल खेलाडीहरू अहिले विश्वका विभिन्न नाम चलेका क्लबहरूमा अनुबन्ध भएर आफ्नो खेलकौशल प्रदर्शन गरिरहेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय मैदानमा नेपाली खेलाडीको क्षमता प्रमाणित गर्दै नेपाललाई विश्वसामु चिनाइरहेका छन्। उनीहरूको सफलताले नयाँ पुस्ताका महिला खेलाडीहरूलाई पनि ठूलो प्रेरणा दिएको छ।

यही सन्दर्भमा झापा र इलाममा आयोजना हुन लागेका यी दुई अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता केवल खेलकुद कार्यक्रम मात्र नभई नेपाली महिला फुटबलको भविष्यसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई अवसर दिने, खेलाडीहरूलाई आर्थिक तथा व्यावसायिक रूपमा सशक्त बनाउने र महिला फुटबलको लोकप्रियता अझ बढाउने अपेक्षा गरिएको छ।

पूर्वी नेपालमा आयोजना हुन लागेका यी प्रतिष्ठित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले फुटबलको माहोल पुनः ताताउने मात्र होइन, नेपाली महिला फुटबलको विकास यात्रामा अर्को महत्वपूर्ण अध्याय थप्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...