बिर्तामोड जेठ १८।। झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
बिर्तामोड युनाइटेड फुटबल क्लबको आयोजनामा आगामी जेठ २४ देखि ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो।आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने जनाएको छ। प्रतियोगितामा झापा र मोरङका गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा मोरङबाट उर्लाबारी फुटबल क्लब र बेलबारी फुटबल क्लब सहभागी हुनेछन्। झापाबाट चन्द्रगढी एफसी, शनिश्चरे एफसी, न्यू स्टार क्लब बिर्तामोड, बगान युथ क्लब कचनकवल, कनकाई स्पोर्टिङ क्लब तथा आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडल हात पार्नेछ। फाइनल खेल जेठ ३१ गते हुने तय गरिएको छ।
खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई समेत विशेष प्राथमिकता दिइएको प्रतियोगितामा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद तीन हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा उदीयमान खेलाडीलाई जनही पाँच हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा झापामा फुटबल गतिविधिलाई थप चलायमान बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

